चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल

बिहीबार, मंसिर १०, २०८३

बेइजिङ । चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ । सात टन क्षमताको मानवरहित हवाईयान (यूएभी) ‘चाङयिङ–८’ ले ३०० मिटर उचाइबाट सामान खसाल्ने परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो । परीक्षणका क्रममा सामान खसाल्ने समयको स्वचालित निर्धारण, प्यारासुटको डोरी तथा सामान अवतरण हुने स्थानको मूल्याङ्कनसमेत गरिएको थियो । सामान खसाल्ने परीक्षणमा लक्ष्य बिन्दुबाट अधिकतम १०० मिटरभित्र सामान झार्ने लक्ष्य राखिएको थियो । तर, वास्तविक परीक्षणमा ५० मिटरमा सामान खसाल्न सफल भएको कम्पनीले जनाएको छ । उक्त ड्रोनको कार्गो राख्ने कक्षको क्षमता १८ घनमिटर रहेको छ। यसको अधिकतम उडान भार ७ टन र अधिकतम सामान बोक्ने क्षमता ३.५ टन रहेको छ । यो ड्रोनले तीन हजार किलोमिटरभन्दा बढी दूरीसम्म उडान भर्न सक्छ। साथै, उच्च हिमाली तथा पठारी क्षेत्रमा पनि उडान भर्न र अवतरण गर्न सक्ने यसको क्षमता रहेको छ। यसका लागि २०० मिटर दूरीको धावनमार्ग पर्याप्त हुने बताइएको छ ।-सीसीटीभीप्लस)

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार