थप ३९ सय ३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि 

उपत्यकामा १० हजार जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण
बिहीबार, साउन २१, २०७८

काठमाडौं । नेपालमा थप ३९ सय ३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । ३७ जनाको कोभिड १९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीवार सार्वजनिक तथ्याङ्कअनुसार १८,४०८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ६,५०० जनाभन्दा बढीको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ७३ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,९९४ पुगेको छ ।
अहिले कुल परीक्षणको २१ प्रतिशतभन्दा बढीमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९२५ जना सङ्क्रमणमुक्त भएका छन् । दक्षिण एशियामा बाङ्ग्लादेश र नेपालको सङ्क्रमण पुष्टि दर उच्च छ ।
नेपालमा कोभिडका कारण अहिलेसम्म १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्क छ । अहिले देशभरि ३४,४०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ ।

कहाँ छन् सङ्क्रमित ?
अहिले काठमाडौंमा ७,०८० जना, भक्तपुरमा १,२९९ जना र ललितपुरमा १,६ ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । विभिन्न १६ वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ । देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये झन्डै एकतिहाइ काठमाडौं उपत्यकामा छन् । भर्खरै पुष्टि भएका र निको हुन बाँकी सङ्क्रमितमध्ये ३१ हजार जनाभन्दा बढी घरमा तथा ३,३०० जनाभन्दा बढी संस्थागत आइसोलेशनमा छन् । तीमध्ये गम्भीर समस्या भएका ७१३ जना विभिन्न अस्पतालका आईसीयूमा र १५८ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा भेरो सेल र जोनसन एन्ड जोनसन खोप वितरण भइरहेको छ । जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ । तर भारतमा उत्पादित अक्सफर्ड(आस्ट्राजेनेकाको कोभिशील्ड खोप निर्यातमा रोक लागेपछि नेपालको खोप अभियान प्रभावित भएको छ । उक्त खोपको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।जापान सरकारले नेपाललाई आस्ट्राजेनेका खोप उपलब्ध गराउन लागेको छ। त्यो खोप पहिलो मात्रा कोभिशील्ड लगाएका व्यक्तिलाई दिने सरकारको योजना छ ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार