कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

बुधबार, वैशाख १६, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ । यस्तै,आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित भारी वर्षा तथा तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्ग सहित भारी वर्षा र देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

हावाहुरी सुरु हुने समय र प्रभावित हुनसक्ने जिल्लाको विवरण अध्यावधिक

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण अध्यावधिक गरेको छ । विभागले आज बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनमा उल्लेख भए अनुसार अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने छ । हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ । यसैगरी लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव पर्ने छ । गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्ला पनि हावाहुरीबाट प्रभावित हुनसक्ने सूचनामा उल्लेख छ । यस्तै मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्लामा पनि हावाहुरीबाट प्रभावित हुनसक्ने विभागले जनाएको छ । कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा पनि तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । विभागले हावाहुरी सुरु हुने समय पनि संशोधन गरेको छ । विभागको अध्यावधिक सूचनामा आज अपराह्न ४ बजे तीव्र गतिको हावाहुरी सुरु हुने र भोलि बिहान ६ः४५ बजे समाप्त हुने उल्लेख छ । हिजो विभागले वैशाख १६ गते साँझ ५स्४५ हुरी चल्न सुरु हुने र १७ गते बिहान ७स्४५ बजे समाप्त हुने सम्भावना रहेको जनाएको थियो । विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ सहित असिना पानी पर्ने प्रणाली पनि पश्चिमबाट पूर्वतिर सर्दै जाने सम्भावना छ । देशका धेरै ठाउँहरुमा यसको प्रभाव पर्ने सम्भावना भएकाले सतर्कना अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार