सोसल मिडिया
Contact Us
युनिकोड
वीरगञ्ज । तराई–मधेसको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानका रूपमा स्थापित छठ पर्व आज आइतबार हर्षोल्लास र भक्तिभावका साथ मनाइँदै छ । सूर्य भगवान र छठी माताको आराधना गरिने यस पर्वका अवसरमा वीरगञ्जसहित तराई–मधेसका विभिन्न जिल्लाका नदी, पोखरी, तलाउ तथा जलाशय किनारमा निर्माण गरिएका छठघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ । चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् रूपमा सुरु हुन्छ । पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व सम्पन्न गरिन्छ । यस अवसरमा व्रतालुहरूले कठोर नियम, निष्ठा र पवित्रताका साथ उपवास बसेर सूर्यदेव तथा छठी माताको पूजा आराधना गर्ने परम्परा छ । वीरगञ्जका विभिन्न छठघाटलाई आकर्षक रूपमा सजाइएको छ । घाटहरूमा सरसफाइ, सजावट, प्रकाश तथा सुरक्षाको व्यवस्था मिलाइएको छ । छठ पूजाका लागि आवश्यक फलफूल, ठकुवा, भुसुवा, नरिवल, उखु, अदुवा, बेसारको बोटलगायत पूजासामग्रीले बजारसमेत भरिभराउ देखिएको छ । छठ पर्वले परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । यस पर्वले सामाजिक सद्भाव, पारिवारिक एकता र सामुदायिक सहकार्यलाई समेत मजबुत बनाउँदै आएको छ ।