सरकारकाे प्राथमिकतामा नागरिकको स्वास्थ्य

स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर

बुधबार, वैशाख १६, २०८३

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्बासी तथा विपन्न परिवारहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै, नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रशंसनीय र मानवीय कदम चालेको छ। स्वास्थ्य मन्त्री नीशा मेहताको विशेष पहल र निर्देशनमा, सङ्कट र रूपान्तरणको यस घडीमा सीमान्तकृत नागरिकलाई आडभरोसा दिन कीर्तिपुरमा बृहत् ’स्वास्थ्य शिविर’ आयोजना गरिँदैछ । पछिल्लो समय काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती व्यवस्थापन तथा स्थानान्तरणको क्रममा नागरिकहरूले भोग्नुपरेको कठिनाइ र सम्भावित स्वास्थ्य जोखिमलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। अस्थायी बासस्थानमा सरसफाइको कमी, मौसमको प्रभाव र मानसिक तनावका कारण उब्जिन सक्ने स्वास्थ्य समस्याहरूलाई समयमै सम्बोधन गर्न यो शिविरको आवश्यकता महसुस गरिएको हो। ‘विपन्न र असहाय नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो’ भन्ने स्वास्थ्य मन्त्री मेहताको स्पष्ट दृष्टिकोणलाई मूर्त रूप दिँदै मन्त्रालयले यो कदम चालेको हो । यस प्रथम चरणको ’सामान्य स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षा तथा परामर्श’ कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाले देशकै प्रमुख केन्द्रीय अस्पताल, वीर अस्पताललाई आवश्यक विशेषज्ञ चिकित्सक र जनशक्ति तत्काल परिचालन गर्न निर्देशन दिइसकेको छ। मन्त्रालयको यो दु्रत र प्रभावकारी कार्यले नागरिकलाई केवल स्थानान्तरण मात्र गरिएको छैन, उनीहरूको स्वास्थ्य र आधारभूत आवश्यकताप्रति पनि राज्य उत्तिकै उत्तरदायी र संवेदनशील छ भन्ने स्पष्ट सन्देश दिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार