सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका ६ खेल गुमाएको थिए । नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए । उनी बुधबार क्वारेन्टिन मुक्त भएका हुन् । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका ६ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिग बासको तेस्रो स्थानमा रहेको छ । बिग बास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया गएका हुन् । क्वारेन्टिन अवधि सकिएपछि उनी नियमित अभयासमा जुटेको व्यवस्थापक सिवाकोटीले जानकारी दिए । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ । उनले तेस्रो पटक बिग बास लिग खेल्न लागेका हुन् । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए । ती दुई याममा उनले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट सङ्क्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र अष्ट्रेलिया उडेका हुन् ।