सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरले परम्परागत शैलीका कार्नेस र पिलाष्टर संरक्षणका लागि कालिगढ उत्पादन गर्न तालिम सुरु गरेको छ । १५ दिनसम्म संचालन हुने उक्त तालिममा ११ जना प्रशिक्षार्थी सहभागी छन् । केफि स्टुडियो प्रा.लि.सँगको सहकार्यमा उक्त तालिम सुरु भएको हो । कार्नेस र पिलास्टर घर र दरबार प्राचीन सम्पदालाई कलात्मक र सुन्दर देखाउन प्रयोग गरिन्छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख मञ्जलीले सीपलाई जिविकोपार्जनसँग जोड्नु आवश्यक भएको बताइन् । सीप हस्तान्तरणको लागि यो तालिम महत्वपूर्ण भएको बताउँदै सीपको बजारिकरणसँग जोड्नुपर्ने धारणा उनले राखिन् । सम्पदाले सम्पन्न पालिकाहरुले तालिम प्राप्त जनशक्तिको सीपलाई प्रयोग गर्नुपर्ने बताउँदै त्यसका लागि महानगरले पहल गर्ने बताइन् । ललितपुर महानगरपालिका ८ नं. वडा का वडाअध्यक्ष एवम् शहरी विकास समितिका सदस्य बाबुराजा महर्जनले कार्नेस र पिलास्टरसम्बन्धी आधारभूत महानगरले दिएको जानकारी दिदैँ यो विशेष तालिम भएको बताए । तालिम लिएर सीप विकास गरेका जनशक्तिलाई सम्पदा निर्माणमा लगाउने आफूले पहल गर्ने उनले बताए । सम्पदा सहरहरुले तालिम लिएका जनशक्तिलाई सीपलाई उपयोग गर्ने प्रतिबद्धता जनाए । सम्पदा शहरका लागिे कार्नेस र पिलाष्टर अत्यावश्यक तत्व हो । यसको संरक्षण अत्यावश्यक छ । ललितपुर महानगरकी आर्किटेक्ट इन्जिनियर वर्षा श्रेष्ठले तालिममा सहभागी प्रशिक्षार्थीलाई सिकेका कुरालाई व्यवहारमा परिणत गर्न अनुरोध गरिन् । उनले कार्नेस र पिलास्टरको सीपको प्रयोग सम्पदा शहरमा अत्यावश्यक भएको बताइन् । आर्किटेक्ट इन्जिनियर झरना जोशीले तालिम लिएका जनशक्तिलाई महानगरले काम गर्ने वातावरण बनाउनुपर्ने बताइन् । उनले तालिममा सिकेको सीपलाई महानगरको सम्पदा संरक्षणमा लगाउनुपर्ने बताइन् । तालिमका मुख्य प्रशिक्षक नरेन्द्र बज्रचार्यले सूर्की र चुना प्रयोग गरेर बनाएको बज्रमा कार्नेस र पिलाष्टर बनाउनु विशेष काम भएको बताए । उनले भने, ‘ हाम्रो सीप संरक्षण र सीप हस्तान्तरणका लागि छोटो तालिमले पुग्दैन, लामो तालिम भयो भने, हात सजिलै बस्छ ।’ तालिमका प्रशिक्षार्थी आशाकाजी महर्जनले नयाँ कुरा सिक्न समय लाग्ने बताउँदै तालिमको अवधि छोटो भएको बताए । उनले भने, ‘ध्यान दिएर, विस्तारै गर्नुपर्ने, सात दिन अलि नपुगे जस्तो हुने रहेछ ।’