बागमती स्वीट्सका खाद्य वस्तुमा किरा

निर्देशन अवज्ञा गरेपछि कारखाना र बिक्रीस्थल सिलबन्दी

शुक्रबार, वैशाख ४, २०८३

काठमाडौं । किरा परेको बदाम भेटिएपछि उत्पादन तथा बिक्री-वितरण रोक्का गरिएको बागमती स्वीट्स प्रा.लिले विभागीय निर्देशनको अवज्ञा गर्दै पुनः खाजा बिक्री-वितरण गरेको पाइएपछि यसको कारखाना र बिक्रीस्थल सिलबन्दी गरिएको छ । चैत ३० गते गम्भीर कमजोरी भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीलाई अर्को आदेश नभएसम्मका लागि उत्पादन तथा बिक्री-वितरण रोक्का गर्न निर्देशन दिएको थियो । तर उक्त निर्देशन पालना नगरी कम्पनीले खाजा प्याक गरी विभिन्न संघ-संस्थामा पठाइरहेको अवस्थामा फेला परेपछि थप कडा कारबाही गरिएको हो ।
बिहीवार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालयमा १४ प्याकेट र चाल्नाखेल अस्पतालमा २५ प्याकेट गरी ५१ प्याकेट खाजा मोटरसाइकलमार्फत पठाउँदै गरिएको अवस्थामा त्रिपुरेश्वरस्थित गणेश मन्दिर नजिकैबाट बरामद गरिएको थियो ।
विभागका अनुसार अनुगमन टोलीले दिएको निर्देशनको अवज्ञा गर्दै कानूनविपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरण गरिरहेको र भविष्यमा पनि यस्तै गतिविधि दोहोरिन सक्ने देखिएकाले कम्पनीको उत्पादन स्थल र बिक्री वितरण स्थल सिलबन्दी गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लगिएको खाजामै किरा परेको बदाम भेटिएपछि मन्त्री गीता चौधरीले विभागलाई तत्काल कारबाही गर्न निर्देशन दिएकी थिइन् । अनुगमनका क्रममा कारखानाको सरसफाइ अवस्था कमजोर, पेष्ट कन्ट्रोल प्रभावहीन तथा प्रयोगका लागि राखिएको आल्मोण्डमा किरा लागेको अवस्था भेटिएको थियो । सो क्रममा करिब ५ किलो किरा लागेको बदामजन्य सामग्री नष्ट गरिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कडाइका बीच र यसअघि पनि कारबाही परिसकेको बागमती स्वीट्सले सुधार गर्नुको सट्टा निर्देशनको अवज्ञा गर्दै थप बिक्री-वितरण गरेको पाइएपछि कडा कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकारीले बताएका छन् । खाद्य निरीक्षण अधिकृत सरोज पौडेलको नेतृत्वमा खटिएको टोलीमा विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ तथा प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेलगायत अधिकारीहरूको सहभागिता रहेको थियो । पछिल्लो समय विभागले खाद्यवस्तुमा मिसावटदेखि गुणस्तरसम्मको चेकजाँचमा कडाइ गर्दै आएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुको उत्पादन तथा वितरणमा लापरबाही नगर्न विभागले व्यवसायीलाई सचेत गराउँदै आएको छ ।

'किरा परेको बदाम भेटिएसँगै बागमती स्वीट्सको उत्पादन तथा बिक्री वितरण रोक्का'
यसअघि गत चैत्र ३० गते किरा परेको बदाम भेटिएसँगै बागमती स्वीट्सको उत्पादन तथा बिक्री वितरण रोक्का गरिएको थियो ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लगिएको खाजामै किरा परेको बदाम भेटिएपछि मन्त्रालयको निर्देशनअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तुरुन्त एक्सन लिएको हो । यसअघि पनि बागमतीको खाजामा अखाद्य पदार्थ भेटिएसँगै दुषितमा कारवाहीमा परेको थियो । गत सोमबार गरिएको संयुक्त अनुगमनमा बागमती स्वीट्स प्रा.लि.को उत्पादन स्थलमा गम्भीर कमजोरी भेटिएपछि सम्पूर्ण उत्पादन तत्कालका लागि रोक्का गरिएको हो ।


विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँसमेतको टोलीले गरेको अनुगमनका क्रममा कारखानाको सरसफाइ अवस्था सन्तोषजनक नरहेको पाइएको छ । अनुगमनका क्रममा पेष्ट कन्ट्रोलको व्यवस्था समेत सन्तोषजनक नरहेको तथा खाद्य पदार्थमा प्रयोगका लागि तयारी अवस्थामा राखिएको आलमोण्ड (ड्राइ बदाम) मा किरा लागेको, प्वाल परेको अवस्थामा भेटिएको विभागले जनाएको छ । उक्त अवस्थामा भेटिएको ड्राइ फुड (मिक्स) तथा सोही आलमोण्डको नमुना संकलन गरिएको छ भने कारखानास्थलमै भेटिएको किरा परेको आलमोण्ड बर्फी करिब ५ किलो नष्ट गरिएको छ । अनुगमनपछि विभागले अर्को आदेश नभएसम्मका लागि बागमती स्वीट्स प्रा.लि.को खाद्य पदार्थ उत्पादन गर्ने कारखानाबाट हुने सम्पूर्ण उत्पादन रोक्का गर्ने निर्णय गरेको छ । साथै उत्पादन रोक्का अवधिभर कारखानाबाट कुनै पनि उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिइएको छ । निर्देशनको अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारवाही हुने विभागले चेतावनी दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय तरकारीदेखि मिष्ठान्नलगायत विभिन्न उपभोग्य वस्तुको उत्पादनमा आकस्मिक चेकजाँच बढाएको छ । आम उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका दैनिक उपभोग्य वस्तुको गुणस्तरबारे कडाइका साथ अनुगमन तथा कारवाही अघि बढाउँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  ०४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार