चिकित्सक दर्ता प्रमाणपत्रको दुरुपयोग रोक्न मेडिकल काउन्सिलको कडा निर्देशन

बुधबार, चैत ११, २०८२

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकहरूलाई आफ्नो दर्ता प्रमाणपत्र तथा विवरण केवल आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थामै प्रयोग गर्न निर्देशन दिएको छ । अन्यत्र दर्ता नम्बर वा प्रमाणपत्रको प्रयोग हुँदा व्यावसायिक आचारसंहिता उल्लंघन हुने र सर्वसाधारणमा भ्रम सिर्जना हुने जोखिम रहने काउन्सिलले जनाएको छ । काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देवका अनुसार कतिपय अवस्थामा चिकित्सकको नाम र दर्ता नम्बर उनीहरू कार्यरत नरहेका क्लिनिक तथा अस्पतालमा समेत प्रयोग भइरहेको पाइएको छ । यसले सेवा प्रदायकको वास्तविक पहिचानमा अन्योल उत्पन्न गर्ने र बिरामीलाई गलत सूचना दिने सम्भावना बढाउने उनको भनाइ छ। यस्तो अभ्यासले स्वास्थ्य सेवाप्रतिको विश्वासमा नकारात्मक प्रभाव पार्ने र भविष्यमा कानुनी तथा प्रशासनिक समस्या निम्तिन सक्ने चेतावनी पनि दिइएको छ । काउन्सिलले चिकित्सकहरूलाई आफ्ना व्यक्तिगत विवरणको दुरुपयोग हुन नदिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, आफू कार्यरत नरहेका पुराना स्वास्थ्य संस्थाहरूबाट नाम, प्रमाणपत्र र दर्ता नम्बर हटाउन पहल गर्न पनि निर्देशन दिइएको छ । त्यसैगरी, साइनबोर्ड, विज्ञापन सामग्री तथा दर्ता अभिलेखमा प्रयोग भएका विवरणहरूको सत्यता नियमित रूपमा जाँच गर्नुपर्ने र आफ्नो जानकारीको अनधिकृत प्रयोग भए/नभएको निगरानी गर्नुपर्नेमा पनि काउन्सिलले जोड दिएको छ ।स्वास्थ्य सेवामा पारदर्शिता, विश्वसनीयता र व्यावसायिक मर्यादा कायम राख्न यस्ता निर्देशनहरू कार्यान्वयन गर्न काउन्सिलले सम्बन्धित सबै चिकित्सकलाई अनुरोध गरेको छ।

 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार