सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । जुम्ला जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले २०८२ चैत १० गते मंगलबार स्वास्थ्य जाँच गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय तथा जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले ६२ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको हो । परीक्षणका क्रममा सामान्य शारीरिक जाँचसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याको पहिचान गरिएको थियो । कारागार जस्तो सीमित वातावरणमा लामो समय बस्दा देखिन सक्ने तनाव, चिन्ता, डिप्रेसन र अनिद्रा लगायतका मानसिक स्वास्थ्य समस्याको मूल्यांकन गरी आवश्यक परामर्श समेत प्रदान गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिए । उनका अनुसार मानसिक स्वास्थ्य परीक्षणका क्रममा कैदीबन्दीलाई सकारात्मक सोच, आत्मबल वृद्धि तथा तनाव व्यवस्थापनका उपायबारे परामर्श गरिएको छ । परीक्षणका क्रममा केही कैदीबन्दीमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ भने जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ । कारागारमा रहेका ७६ जना कैदीबन्दीमध्ये ६२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। तीमध्ये २१ जनालाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गरिएको, ९ जनालाई क्षयरोग परीक्षणका लागि सिफारिस गरिएको र १० जनामा उच्च रक्तचाप देखिएको छ । कार्यालय प्रमुख शर्माका अनुसार कारागारभित्र रहेका नागरिकहरू पनि राज्यका समान अधिकार प्राप्त नागरिक भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिन यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनेछ । विश्व क्षयरोग दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा कैदीबन्दीहरूलाई फलफूल समेत वितरण गरिएको थियो । साथै, गएको पुस महिनामा पनि यस्तै स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।