चन्द्रपुरमा अज्ञात रोगले १५ बङ्गुर मरेपछि किसान त्रसितः ‘स्वाइन फिभर’को आशङ्का

शुक्रबार, फागुन २९, २०८२

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ र ५ मा अज्ञात रोगका कारण एकैसाथ १५ वटा बङ्गुर मरेपछि स्थानीय किसानहरूमा त्रास फैलिएको छ । केही दिनको अन्तरालमा ठूलो संख्यामा बङ्गुर मरेपछि व्यवसाय नै संकटमा परेको भन्दै कृषकहरू चिन्तित बनेका हुन् । चन्द्रपुर–५ का किसान हिरा गुरोले पालेका १४ वटा बङ्गुर एकैपटक मरेका छन् भने वडा नम्बर ४ मा अर्को एक बङ्गुरको मृत्यु भएको छ । किसान गुरोका अनुसार, सुरुमा बङ्गुरहरूमा उच्च ज्वरो आउने, दानापानी खान मन नगर्ने र शरीर कमजोर हुँदै जाने लक्षण देखिएको थियो । त्यसको केही समयमै धमाधम बङ्गुरहरू मर्न थालेका थिए । ‘मैले ठूलो लगानी गरेर बङ्गुर पालन सुरु गरेको थिएँ, तर एकैपटक १४ वटा मरेपछि व्यवसाय नै धरापमा पर्यो,’ पीडित किसान गुरोले दुःख व्यक्त गरे । बङ्गुरहरूमा देखिएको लक्षण ‘अफ्रिकन स्वाइन फिभर’ वा ‘क्लासिकल स्वाइन फिभर’ सँग मिल्दोजुल्दो रहेको प्राविधिकहरूको प्रारम्भिक अनुमान छ । पशु सेवा कार्यालय चन्द्रनिगापुरका प्रमुख शुलभ चौधरीका अनुसार, रोगको यकिन कारण पत्ता लगाउन नमुना परीक्षणको प्रक्रिया अगाडि बढाइनेछ । ‘लक्षण हेर्दा स्वाइन फिभर जस्तो देखिए पनि प्रयोगशाला परीक्षणपछि मात्र यकिन भन्न सकिन्छ,’ प्रमुख चौधरीले भने, ‘हामीले रोग पहिचान गरी एक हप्ताभित्र नगर क्षेत्रका बङ्गुरहरूमा भ्याक्सिन (खोप) लगाउने तयारी गरिरहेका छौँ।’ पशु सेवा कार्यालयले रोग अन्य फार्महरूमा पनि फैलिन सक्ने जोखिम रहेको भन्दै किसानहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रमुख चौधरीले किसानहरूलाई बिरामी बङ्गुरलाई तुरुन्तै स्वस्थ बङ्गुरबाट अलग राख्न, खोर र आसपासको क्षेत्रमा नियमित सरसफाइ र निसंक्रमण गर्न ,बाहिरी मानिसलाई फार्मभित्र प्रवेश गर्न रोक लगाउन र कुनै पनि असामान्य लक्षण देखिएमा तुरुन्त पशु सेवा कार्यालयमा सम्पर्क गर्न सुझाव दिएका छन् । चन्द्रपुर क्षेत्रका धेरै किसानहरूको आयआर्जनको प्रमुख स्रोत बङ्गुर पालन हो। रोग फैलिँदै गएमा करोडौँको क्षति हुने भन्दै स्थानीय किसानहरूले नगरपालिका र पशु सेवा कार्यालयलाई तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् । ‘समयमै रोग नियन्त्रण नभए हाम्रो लगानी डुब्ने निश्चित छ,’ अर्का एक स्थानीय किसानले भने । पशु सेवा कार्यालयले भने किसानलाई नआत्तिन र प्राविधिक सल्लाहअनुसार काम गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार