सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको उल्लेख छ । उनका अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ । उनले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको जानकारी दिएका छन् । मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसङ्ख्याको लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको छ । सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८५० खोप प्राप्त गरिसकेको जनाएको छ । तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई एक लाख अनुदानमा, कोभ्याक्सबाट तीन लाख ४८ हजार मात्रा, चीनबाट दुई पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप, र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन् । मन्त्रालयले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई पनि विश्व स्वास्थ्य सङ्गठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशत मुनाफा लिएर खरिद गर्न दिइएको उनले जानकारी दिए । यस्तै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले अहिलेसम्म हाई डिपेन्डेन्सी युनिट (एचडियु) दुई हजार ७५ सरकारी र ७७८ निजीमा थपिएको छ । यस्तै एक हजार ४०० एचडियु थप्ने योजनामा रहेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटर ९०४ रहेको र थप १८० थप्ने क्रममा रहेको छ । बालबालिकाका लागि १८० भेन्टिलेटरसहित २५० सघन उपचार कक्ष (आइसियु) शय्या थप्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ । सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कूल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुनेछ । मन्त्रालयले कूल जनसङ्ख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने जनाएको छ ।
कोभिड–१९ महामारी नियन्त्रणको रणनीति बनाउँदै सिसिएमसी
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा कोभिड महामारी नियन्त्रणका लागि कसरी संयन्त्रलाई चुस्त र प्रभावकारी ढङ्गले परिचालन गर्ने भन्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा महामारीको पछिल्लो अवस्था र आगामी रणनीतिबारे छफफल भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बसेको सो बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रधानसेनापति, सिसिएमसीका प्रमुख बालानन्द शर्मा र विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । बढ्दो महामारी नियन्त्रण गरी जनजीवनलाई सामान्य तुल्याउने सन्दर्भमा बैठकमा छलफल भएको सिसिएमसीका एक अधिकारीले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन तीन हजार ६११ जना सङ्क्रमित थपिएका छन् भने २७ जना सङ्क्रमितको मृत्यु भएको छ ।