स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेको छ : स्वास्थ्य मन्त्री 

बिहीबार, माघ १५, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले स्वास्थ्य बिमाको क्षेत्रमा सुधारको काम भइरहेको बताएकी छन् । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताएकी हुन् ।  “स्वास्थ्य मन्त्रालयमा आएको बजेटभन्दा धेरै बजेट बिमाको रकमको खर्च हुन थालेकाले समस्या परेको हो, अनावश्यक रूपमा डाक्टरले बिरामी जाँचेर औषधि लेखिदिने र बिरामीले अनावश्यक रूपमा बिमाको दाबी गर्दा अहिलेको समस्या आएको हो, यसलाई समाधान गर्न सरकारले काम गरिरहेको छ,” उनले भनिन् । स्वास्थ्य बिमामा संघीय सरकारको एकोहोरो बोझ परेको उनको भनाइ थियो । स्वास्थ्य बिमालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वयको आवश्यकता रहेको मन्त्री शर्माले बताइन् । मन्त्री शर्माले विपन्न नागरिकको उपचार गरेबापत अस्पतालले पाउने रकम र सामाजिक सेवाको रकम सरकारले तत्काल उपलब्ध गराउने स्पष्ट पारिन् । उनले मुटु उपचारको क्षेत्रमा गंगालाल अस्पतालले पुर्‍याएको योगदानको प्रशंसा गरिन् । अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रवि मल्लले मुटु रोगको रोकथाम, निदान र उपचारमा गंगालालले उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताए । वि.सं. २०५६ सालमा नौ शय्यामार्फत मुटुको उपचार सुरु गरेको उक्त अस्पतालले हाल ३०५ शय्यामार्फत बिरामीको उपचार गरिरहेको मल्लले जानकारी दिए । अस्पतालका वरिष्ठ मुटु शल्य चिकित्सक डा. रामेश कोइरालाले जेन जेड आन्दोलनका क्रममा गंगालाल अस्पताल प्राथमिकतामा नपरेको गुनासो गरे । गत वर्ष मात्र गंगालाल अस्पतालले एक हजार ९९० बिरामीको शल्यक्रिया सम्पन्न गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार