सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उनीहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यकामा मापदण्ड लागू नहुँदा सङ्क्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने बताएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा. सागरराज भण्डारीले जनस्वास्थ्यका मापदण्ड लागू गर्न हेलचक्य्राइँ गरिएकाले सङ्क्रमण तेस्रो लहर एक महिनाभित्र आउनसक्ने बताए । “निषेधाज्ञासँगै जनस्वास्थ्यका मापदण्ड लागू गरिएको पाइएको छैन । जसले गर्दा सङ्क्रमण दिनानुदिन बढ्दो छ”, उनले भने, “यसैगरी सङ्क्रमण नियन्त्रण गर्न हेलचक्य्राइँ गर्ने हो भने तेस्रो लहर एक महिनाभित्र आउँछ ।” नेपालमा पछिल्लो दिन सङ्क्रमण दर बढ्दो छ । सोमबार मात्र आइतबारभन्दा एक हजार १८४ मा सङ्क्रमण बढी देखिएको थियो । सोमबार नेपालमा तीन हजार ४२१ र आइतबार दुई हजार २३७ सङ्क्रमित देखिएका थिए । जनस्वास्थ्यविद् डा. राजभण्डारीले कोरोना भाइरस अझ केही वर्ष रहन भएकाले मानिसले आफ्नो व्यवहार परिवर्तन गरी कोरोनासँग लड्दै जिउनुपर्ने बताए । यस्तै जनस्वास्थ्यविद् डा वासुदेव पाण्डेले भारतको खुला सीमाका कारणले सङ्क्रमण नेपाल फेरि बढिरहेको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड लागू गरेर मात्र सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने धारणा राखे । उनले भाइरस अझ केही वर्ष रहने भएकाले सोहीअनुसारको मानिसको जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए । अर्का जनस्वास्थ्यविद् डा. सुन्दरमणि दीक्षितले तेस्रो लहरको जोखिम भएकाले सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने बताए । उनले खोप जतिसक्दो चाँडो लक्षित नागरिकलाई खोप लगाएर बचाउनुपर्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असोज तेस्रो सातादेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारीरूपमा लागू नगरिएकाले असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरिएको हो । तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने भएकाले मन्त्रालयले सचेत रहन निर्देशन समेत दिइसकेको छ ।