ओलम्पिक खेलमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

बिहीबार, साउन ७, २०७८

काठमाडौं । भोलिदेखि जापानको टोकियोमा सुरु हुने ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । आज सार्वजनिक खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो । उनी ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन् । भट्ट विश्व वरीयतामा १२७ औँ स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् । उक्त खेल साउन ९ गते हुनेछ । पदकको टुङ्गो पनि सोही दिन लाग्नेछ । भट्ट वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन् । उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा कास्य पदक जितेकी थिइन् । उनी महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन् ।  डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रुपमा सहभागी छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डा मुनि रहेर प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार