राजमार्गमा महिना बिराएर भइरहन्छन कहाली लाग्दा दुर्घटना 

सोमबार, मंसिर २२, २०८२

काठमाडौं ।

  • २० मङ्सिरमा धादिङको धुनिवेशी नगरपालिका–६ चालिसेमा विद्यार्थी बोक्नेसहित पाँचवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल गरी सातवटा सवारी एकै ठाउँमा दुर्घटनामा पर्दा एकजनाले ज्यान गुमाउनुका साथै ७० जनाभन्दा धेरै घाइते भए ।
  • १ कात्तिकमा नारायणगढ(मुग्लिन सडकखण्डको घाइघाटमा दुइटा बस, एक ट्रक, एक टेलर, एक माइक्रो, एक भ्यान र एउटा कार गरी सातवटा गाडी एक आपसमा ठोक्किँदा २० जनाभन्दा धेरै घाइते हुन पुगे ।

नेपालमा एक महिनाकै अन्तरालमा दोस्रो पटक भएको धेरै सवारी साधनहरू आपसमा ठोक्किएको घटनालाई विज्ञहरूले नियमकानुन कार्यान्वयन नहुँदाको असरका रूपमा ‍औँल्याएका छन् । शनिबार धादिङमा भएको दुर्घटनापछि प्रहरीले आसपासका क्षेत्रका सीसीटीभी फुटेज हेरेर र प्रत्यक्षदर्शीको बयान सङ्कलन गर्दा घटनाको सुरुआत भारतीय नम्बर प्लेटको एक कन्टेनर ट्रकले उही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको क्षणबाट उत्पन्न भएको बताइएको छ । त्यससँगै उक्त ट्रक अनियन्त्रित भएर लड्न पुग्यो भने त्यसपछि दुवैतर्फबाट आएका चारवटा बस र एक ट्रक समेत त्यसमा ठोकिन पुगेपछि त्यस्तो परिस्थिति पैदा भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले भने, ‘कन्टेनर ट्रकबाहेक अन्य सवारीको गति खासै धेरै देखिँदैन। त्यहाँनेरको सडकको अवस्था हेर्दा त्यो उच्च गतिमा गाडी हाँक्ने ठाउँजस्तो पनि देखिँदैन। त्यसैले ब्रेक फेल भएको हुन सक्ने हाम्रो आशङ्का छ। तर त्यसको परीक्षण हुन बाँकी छ।’ नेपालको सडक सुरक्षाबारे अध्ययन गरिरहेका यूकेको यूनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्यान्डका अनुसन्धाता पुष्पराज पन्तले तीव्र गतिमा कुदाउन नमिल्ने भनिएकै सडकमा यस्तो दुर्घटना हुनुले नेपालको सडक सुरक्षाको भयावह चित्र देखाउने बताउँछन् ।

चौतर्फी समस्या
सडक सुरक्षाविज्ञ पन्तले जरैमा गएर केलाउँदा यस्ता घटनाको कारण भेटिने बताउँछन् । ‘मुख्य राजमार्गमै पनि जब बजार क्षेत्रमा गाडी प्रवेश गर्छन् तब त्यसको गति प्रतिघण्टा ४०  किलोमिटरभन्दा धेरै हुन हुँदैनथ्यो । यदि त्यसो भइदिएको भए यति ठूलो दुर्घटना हुँदैनथ्यो,’ उनी भन्छन् । ‘सडकको सतहमा दायाँबायाँबाट आउने सवारीका लागि स्पष्ट ुलेन मार्किङु भएको भए लेन अनुशासन पालना हुने अपेक्षा हुन्छ र त्यसो नगरे कारबाही गर्न सकिन्छ। तर दुर्घटनास्थल हेर्दा त्यसमा पनि समस्या देखिन्छ’ उनले भने । विज्ञहरूले ट्रकमा ब्रेक फेल भएको भनिएका विवरण आइरहँदा अत्यधिक भार बोक्ने सवारीमा त्यसो हुनुलाई सामान्य चुक मान्न नमिल्ने बताउँछन् । पन्त उक्त सवारी साधनको अघिल्ला यान्त्रिक परीक्षण अभिलेख पुनः केलाएर त्यसको समीक्षा गर्नुपर्ने र निर्धारित मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन भएको सुनिश्चित गर्न आवश्यक रहेको बताउँछन् । ‘दुर्घटनास्थलको सडकको बनावट हेर्दा त्यो बस्तीको बीचबाट गएको देखिन्छ । त्यस्तोमा सवारीको गति कति हुने भन्ने सीमा तोकिए तापनि दुर्घटना हुँदा त्यो अत्यधिक देखिन्छ,’ सडक सुरक्षाविज्ञ पन्त भन्छन्, ‘जब सवारीको गति बढ्ता हुन्छ तब धेरै गाडीहरू ठोक्किने परिस्थिति बढ्ने हो। नेपालमा सडकहरू फराकिला हुँदै जाँदाको परिस्थितिमा यस्ता समस्या अझै थप हुने जोखिम रहन्छ ।’ सामान्यतः सुरुवाती दुर्घटनाको निकै कम दूरीमा अन्य सवारीहरू हुँदा ‘मल्टिपल कोलिजन’का घटना हुने विज्ञहरू बताउँछन् । त्यस्तोमा पछिल्ला सवारी साधनको गति धेरै हुँदा ती दुर्घटना अधिक घातक हुने बताइन्छ । अचानक लेन परिवर्तन वा कमजोर भिजिबिलिटीका कारण पनि यस्ता दुर्घटना हुने देखिन्छ । त्यस्तै सवारी साधनको यान्त्रिक गडबडीदेखि ध्यान केन्द्रित गर्न नसक्ने चालकको अवस्थासम्मले पनि यस्तो परिस्थिति उत्पन्न गर्ने बताइन्छ ।

कानुन कार्यान्वयनको अवस्था
करिब दुई दशक ट्राफिक सेवामा बिताएका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठका अनुसार धेरै गाडी एकैचोटि ठोक्किने अवस्थाको मूल कारण सडक इञ्जिनियरिङदेखि सवारीका यान्त्रिक इञ्जिनियरिङसम्मका त्रुटिहरूमा देखिन्छ । ‘हामीले एकखाले गति अनुकूल हुने गरी सडक बनाउँछौँ तर त्यही सडकमा त्यसको दोबरभन्दा बढ्दा गतिमा गाडी कुदाउन दिइरहेका छौँ,’ श्रेष्ठ भन्छन्, ‘त्यस्तै सवारी साधनको जाँचपासमा पनि हामीकहाँ धेरै नै चुक छ ।’ उनका अनुसार नेपालका सडकका चुनौतीपूर्ण अवस्थाबीच चालकमा पैदा हुने थकानलाई कहिल्यै गम्भीर रूपमा नलिँदा त्यसको असर पनि यस्ता घटनामा देखिने गर्छ । ‘चार घण्टा सवारी चलाएपछि आधा घण्टा आराम गर्नुपर्ने र त्यसका लागि आराम केन्द्रहरू बनाउने घोषणा गरेर पनि कार्यान्वयन गरेनौँ,’ काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ समेत रहेका श्रेष्ठ भन्छन्, ‘राजमार्गमा सीमा नाघेर तीव्र गतिमा सवारीहरू हुइँकिइरहेकै छन् तर त्यहाँ तिनको नियमन गर्दै कानुन कार्यान्वयन गर्ने पूर्वाधारमा लगानी भएको छैन। त्यसो नहुँदा कुरा मात्रका भरमा यस्ता ‘मल्टिपल कोलिजन’का घटना आउँदा दिनमा बढ्ने नै हुन् ।’ ट्राफिक प्रहरीले केवल हाते उपकरणमै भर नपरी स्वचालित रूपमा गति मापन गर्ने, सवारीको नम्बर प्लेट स्क्यान गरेरै कारबाही प्रक्रियामा लैजाने प्रणाली जस्ता प्रविधिको व्यापक प्रयोग गर्नेतर्फ निकै ढिलो भइसकेको पनि उनी औँल्याउँछन् । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार पहाडी वा कच्ची सडकमा ट्रक, मिनी ट्रक, ट्रिपर र बसलाई प्रतिघन्टा ५० किलोमिटरभन्दा बढी गतिमा चलाउन नपाइने व्यवस्था छ। बसका लागि समेत सोही नियम छ । त्यस्तै जस्तोसुकै सडकमा बस्ती आसपास कुनै पनि गाडीले प्रतिघण्टा ४० किलोमिटर बढ्ता गतिमा सवारी चलाउन नपाइने व्यवस्था छ।–बीबीसी 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार