प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा अर्काे रिट

काँग्रेसका निवर्तमान ७ सांसदले दायार गरे रिट
आइतबार, मंसिर २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ ।  विघटित प्रतिनिधिसभामा नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जना निवर्तमान सांसदका तर्फबाट रिट निवेदन पेश गरिएको हो । यसअघि एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गरेको थियो । दुवै दल अलगअलग सर्वोच्च पुगेका हुन् । कांग्रेसबाट पेस भएको रिट अध्ययनकै क्रममा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । निवेदन संवैधानिक इजलासमा दर्ताका लागि पेस भएको र अध्ययनपछि सोमबार दर्ताबारे निर्णय हुनेछ । यो सँगै सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी दुई वटा राजनीतिक दल अनि सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधिन रहेका छन् । एमाले र अन्य १७ थान निवेदनमा यसअघि नै पहिलो सुनुवाइ भएको छ भने कांग्रेसको रिटमा सुनुवाइ हुन बाँकी छ । सर्वोच्चले यसअघि दर्ता भएका सबै रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरिसकेको छ । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलन र प्रदर्शनपछि सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा सरकार बनेको थियो । कार्कीले शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन सिफारिस गरेकी थिइन् । उक्त सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार