सान्त्वना जितसहित पोखराद्धारा एनपिएलको अन्त्य

शनिबार, मंसिर २०, २०८२

काठमाडौं । पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ । पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो । जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा गर्‍यो । आजको यो खेलमा ओपनर अर्जुनलाई ओपनिङमा आए । अर्जुन र रोसिङ्गटनले पहिलो पावर प्लेमा ३८ रन जोडे । चितवनका बलरहरूले उनीहरूलाई आउट गर्न नसक्दा १० ओभरमा ६३ रन बनाए । अन्तिम ६० बलमा पोखरालाई ५८ रन जोड्नु थियो । ११ औं ओभरको अन्तिम बलमा एडमले अर्धशतक बनाए। ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन पूरा गरे । उनको यो जारी एनपिएलमा दोस्रो अर्धशतक हो । यी दुईले शतकीय साझेदारी गरे । १५.२ ओभरमा चितवनले पहिलो विकेट झार्यो । ४८ बल खेलेर ४ चौका र ५ छक्का सहित ६५ रन बनाएर रोसिङ्गटन रिजन ढकालको बलमा कुशल मल्लद्वारा क्याच आउट भए । पहिलो विकेट गुमाउँदा पोखरालाई जितको लागि मात्र २१ रन जरुरी थियो । यसपछि कुशल भुर्तेल क्रिजमा छिरे। तर कुशल मात्र ४ रनमा सेफ जेबको बलमा आउट भए । अर्जुनले ५२ बलमा २ चौका र १ छक्का सहित अविजित ४३ रन जोडे । बलिङमा रिजन ढकाल र सेफ जेबले १-१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो । जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं विरुद्ध १ सय ३० रन बनाएको थियो । चितवनले बिर्सनलायक सुरूवात गर्‍यो । पहिलो क्रमका ३ खेलाडी आउट हुँदा ७ रन मात्र बनायो । ओपनर अर्जुन साउद धनन्जय लक्समको बलमा १ रनमा बोल्ड आउट भए । ६ रन जोड्दा पहिलो विकेट गुमायो । यसपछि अर्का ओपनर डविट मलान ५ रनमा लक्समकै बलमा आउट भए। लगतै रवि बोपरा पनि मात्र १ रनमा विपन खत्रीको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट गरे। कुशल उत्कृष्ट वान ह्यान्डेड डाइभ गर्दै क्याच लिए। पहिलो पावर प्ले‌मा चितवनले मात्र २३ रन जोड्दै निकै खराब सुरुवात गर्‍यो ।  यसपछि चौथो विकेटको रूपमा सेफ जेब १७ रन जोडेर रोहित चन्दको बलमा आउट भए। रोहितले एनपिएलको डेब्यु खैलमा नै विकेट लिए । १० ओभरको समाप्तीमा चितवनले ४ विकेट गुमाउँदा ४८ रन मात्र बनायो । पाँचौं विकेटको रूपमा देव खनाल पबिलियन फर्किए । ४१ बल खेल्दै १ चौका र १ छक्का सहित ३५ रनमा किरण ठगुन्नाको बलमा जेसन रोयद्वारा क्याच आउट भए। यतिखेर टिमले ७० रन बनाएको थियो । देव नै टोलीको सर्वाधिक रन जोड्ने खेलाडी बने । यसपछि कुशल मल्ल २३ बलमा २३ रन बनाएर लक्समको बलमा आउट भए। यसपछि अल्पेश रामजानी अविजित ३३ रनमा रहे । बलिङमा धनन्जय लक्समले सर्वाधिक ३ विकेट लिए । विपिन, रोहित र किरणले १-१ विकेट लिए । पोखराले ७ खेलमा ४ मा हार र ३ मा जित निकालेर ६ अंकमा यो सिजन पाँचौं स्थानमा रहँदै एनपिएल सकाएको छ । पोखरा लगातार दोस्रो सिजन पनि प्ले अफमा पुग्न सकेन। दुई संस्करणमा प्ले अफमा पुग्न नसकेको पोखरा एक मात्र टोली बनेको छ । चितवनले भने ७ खेलमा ५ मा हार र २ मा जित सहित ४ अंकका साथ यो सिजनको एनपिएल पूरा गर्‍यो । चितवन गत संस्करणमा भने प्ले अफमा पुगेको थियो । यसअघि आज भएको पहिलो खेलमा शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई ४ विकेटले हराउँदै विराटनगर किंग्स एनपिएलको क्वालिफायर वानमा पुगेको छ । क्वालिफायर वानमा विराटनगर र सुदुरपश्चिमबीच नै प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । भोलि लिग चरणको अन्तिम खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार