सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा दलका प्रतिनिधिहरुले निर्वाचन सुरक्षा व्यवस्थाप्रति चासो व्यक्त गरेका छन् । बैठकमा सुरक्षा निकायका प्रतिनिधिले भने सुरक्षा अवस्था मजबुद बन्दै गएको विश्वास दिलाउने प्रयास गरेका थिए । बालुवाटारमा शुक्रबार भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारी, सुरक्षा निकाय र राजनीतिक दलका नेताहरुको सहभागिता थियो । छलफलमा निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग निर्वाचन तयारीमा दलहरु र सरकारले सोचेभन्दा निकै अघि बढेको ब्रिफिङ गरेका थिए । त्यस्तै सुरक्षा निकायले पनि निर्वाचनलाई असर पार्ने सुरक्षा थ्रेटको पहिचान गरिसकेकोले सन्देह नगर्न आग्रह गरेको थियो । प्रधानमन्त्री कार्कीले २१ फागुनमा निर्वाचन गर्न सरकार पछि नहट्ने अवस्थामा रहेको भन्दै दलहरुसँग सहयोग मागिन् । बैठकमा एमाले, कांग्रेस, रास्वपा र राप्रपासहितले निर्वाचनमा भाग लिन आफूहरु तयार रहेको तर सुरक्षा र भयरहित रुपमा मतदान गर्ने अवस्था बनाउन माग गरेका थिए ।
रास्वपाका प्रतिनिधिले राखे ८ बुँदा सरकारले आज प्रमुख राजनीतिक दलहरू, निर्वाचन आयोग, तथा सुरक्षा निकाय हरूसँग निर्वाचन केन्द्रित छलफल आयोजना गरेको थियो । उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सोबिता गौतम र शिशिर खनाल सहभागी भएका थिए । उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी कातर्फबाट राखिएका धारणाहरू
१. जेन्जीको विद्रोहपछि को विशेष परिस्थितिमा निर्माण भएको सरकारको प्रमुख दायित्व निर्वाचन सम्पन्न गर्नु हो। निर्वाचन नै जनादेश मार्फत संविधानलाई ट्र्याकमा ल्याउने सही उपाय पनि हो। त्यस अर्थमा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुदेखि नै सरकारलाई समर्थन जनाएको छ ।
२. आगामी निर्वाचन फागुन २१ मा नै हुनुपर्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रुपमा प्रतिबद्ध छ।
३. भयरहित वातावरणमा चुनाव हुनुपर्ने आम चासोमा हाम्रो पनि सरोकार छ। आजको बैठकमा सरकार तथा सुरक्षा निकायहरूको तर्फबाट सुरक्षा प्रत्याभूति सहित चुनाव गराउन सक्छौं भन्ने प्रतिबद्धता आएको कुरालाई हामी स्वागत गर्दछौं।
४. निर्वाचन आयोग तथा नेपाल सरकारले मतदाता नामावली दर्तालाई राष्ट्रिय परिचयपत्र सँग जोडेर सहजीकरण गर्दै युवा मतदाताहरूलाई आम निर्वाचनमा जोड्न गरेको प्रयासलाई हामी धन्यवाद भन्दछौं।
५. राजनीतिकर्मीको रूपमा हामीसँग हरेक भेटमा आम रुपमा सोधिने प्रश्न ूनिर्वाचन हुन्छ त भन्ने देखिन्छरुू यस अर्थमा निर्वाचनको वातावरण निर्माणमा सरकार तथा निर्वाचन आयोगले थप काम गर्नुपर्ने देखिएको छ। यसतर्फ हामी ध्यान आकर्षण गराउँछौं।
६. विदेशमा रहेका नेपाली तथा गैर जिल्ला भोटिङ लगायतका विषयहरू यही निर्वाचनबाट हुनेछ भन्ने कुराको हामी अपेक्षा राख्दछौं।
७. रास्वपा निर्वाचनमा होमिसकेको छ। हामी हाम्रै प्रणाली अन्तर्गत हाम्रो दलका तर्फबाट समानुपातिक उम्मेदवार हुन चाहने व्यक्तिहरूबाट दरखास्त लिइराखेका छौं र हामी प्रारम्भिक निर्वाचन मार्फत समानुपातिक उम्मेदवारहरू छनोटको प्रक्रियामा लागिसकेका छौं।
८. रास्वपा समयमा नै निर्वाचन हुनुपर्छ भन्ने कुरामा पूर्ण प्रतिबद्ध मात्रै होइन तयार पनि रहेको जानकारी गराउँछौँ ।