सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ । हेटौंडा क्षेत्र वर्षौंदेखि अत्यधिक ट्राफिक चाप, अव्यवस्थित पार्किङ र साँघुरो सडकका कारण जटिल बन्दै गएकाले विस्तार अब अपरिहार्य बनेको महासंघको धारणा छ । महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा हेटौंडा बागमती प्रदेशको राजधानी भएर पनि लामो समयदेखि सडक सुविधाको अभावमा नागरिक र व्यवसायी दिनहुँ समस्यामा परेको उल्लेख छ । विसं २०१२–१३ सालमा निर्माण भएको हालको सडक वर्तमान आवश्यकता पूरा गर्न नसकेकाले विस्तारलाई ढिलाइ गर्न नहुनेमा महासंघले विशेष जोड दिएको छ । यातायात चाप बढ्दै जाँदा दुर्घटना जोखिम समेत बढेको परिस्थितिमा विस्तार कार्यलाई छिटो, प्रभावकारी र योजनाबद्ध रूपमा अघि बढाउनु आजको आवश्यकता भएको महासंघको भनाइ छ । यसैबिच, मंसिर ५ गते गोरखापत्रमा प्रकाशित सडक डिभिजन कार्यालयको सूचनामा हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ–बायाँ २५–२५ गजभित्रका संरचना हटाइने जानकारी दिइएको थियो, जसले स्थानीयवासी र व्यवसायीमा चासो उत्पन्न भएको छ । विस्तार छिटो गर्नुपर्ने धारणा राख्दै आएको महासंघले प्रभावित सम्पत्तिधनीको अधिकार संरक्षण पनि राज्यले गर्नैपर्ने भन्दै कानुनअनुसार उचित मुआब्जा, क्षतिपूर्ति र पुनस्र्थापनाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । महासंघले सडक विस्तार अब ढिलो नगरोस्, तर प्रभावितको हकहितलाई सम्मान गर्दै अघि बढोस् भन्ने सन्देशसहित दुवै पक्षको हित सुनिश्चित गर्ने संयमित प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएको छ ।