सोसल मिडिया
Contact Us
युनिकोड
भरतपुर । पर्यटकीय नगरी सौराहामा दुग्ध विकास संस्थान (डिडिसी) को आउटलेट सञ्चालनमा आएको छ । नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहको सक्रियतामा चितवनको सौराहामा उक्त आउटलेट सञ्चालनमा ल्याइएको हो । नेपाल सरकार, कृषि मन्त्रालयका सहसचिव एवं दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले संयुक्त रूपमा आउटलेटको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा डा. पाण्डेले सौराहाजस्तो अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यमा डिडिसीको आउटलेट सञ्चालनमा आउनुले स्वदेशी उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए । ‘अब सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकले सहजै डिडिसीको उत्पादन उपभोग गर्न पाउनेछन्,’ डा. पाण्डेले भने, ‘स्थानीय महिला उद्यमी समूहको सक्रियतामा आउटलेट सञ्चालन हुनु महिला सशक्तीकरण र स्वरोजगारका दृष्टिले पनि उदाहरणीय छ ।’ वडाध्यक्ष महतोले स्थानीय महिला उद्यमीहरूले थालेको व्यावसायिक प्रयासको प्रशंसा गर्दै वडा कार्यालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । आउटलेटमा डिडिसीले उत्पादन गरेका ताजा दूध, दही, घिउ, पनिर, चीजलगायत विभिन्न दुग्धजन्य पदार्थ उपलब्ध हुनेछन् । सञ्चालक समिति सदस्य बबिता चौधरीले स्थानीय बासिन्दा तथा पर्यटकलाई सुलभ मूल्यमा गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराउने उद्देश्यले आउटलेट सञ्चालनमा ल्याइएको बताइन् । महिला उद्यमी समूहको पहलमा सञ्चालनमा आएको यस आउटलेटले स्थानीयस्तरमा स्वरोजगार प्रवद्र्धनसँगै नेपाली दुग्ध उत्पादनको बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा छ ।