सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१ गते जुनै पनि हालतमा निर्वाचन गराएर छोड्ने दावी गरेका छन् । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठकमा बिहीबार बोल्दै उनले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायित्व सरकारको रहेको बताउँदै त्यसैमा सरकार जुटेको बताएका हुन् । उनले भने, ‘अहिले चुनाव हुन्छ कि हुँदैन् भन्ने आशंकाहरू छन् । खासगरी सुरक्षाको हिसाबले बाधाहरू नआएको होइन् आइराखेकै छन् । चुनावको वातावरण बन्नेतर्फ नै गएको छ । सबै दलले दल दर्ता गर्नुभएको छ । सरकारले जसरी पनि चुनाव गर्छ । त्यही ढंगले काम गर्छ । दलिय नभएर यो गैरदलिय सरकार भएकाले हामीले त्यही खालको भूमिका खेल्नुपर्छ । हाम्रो निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायित्व छ ।’ त्यस्तै, उनले धेरै हतियार फिर्ता आइसकेको भन्दै फिर्ता भएका कतिपय जलेर कामै नलाग्ने अवस्थामा रहेको बताए । अहिले कति हतियार बाहिर छन् भन्ने कुरा सुरक्षा सम्बन्धि प्रोटोकलले भन्न नमिल्ने बताउँदै उनले फिर्ता नभएकोमा केही जलेको र केही ठूला हतियार खोलामा बगाएको पनि हुनसक्ने आशंका व्यक्त गरे । ‘अहिले हतियार बाहिर कति छन् भन्ने कुरा हाम्रो सुरक्षा सम्बन्धि प्रोटोकलले भन्न मिल्दैन् । धेरै जस्तो हतियारहरू फिर्ता भइसकेको छन् । फिर्ता नभएकोमा केही जलेको छन् र केही ठूला हतियार चाहिँ खोलामा बगाएको पनि हुनसक्छ’, उनले भने । त्यस्तै, फरार कैदी मध्ये गम्भीर अपराधमा संलग्नहरूको संख्या कम भएकाले हतियार र कैदी बन्दीकै कारणले चुनाव विथोलिन्छ भन्ने पक्षमा सरकार नरहेको धारणा राखे । ‘हत्यामा संलग्न अंगभंग यस्तो खालको गम्भीर अपराधमा संलग्नहरूको संख्या अलि कम नै छ । लागू औषध र जबरजस्तीकरणीको अलि धेरै छ । त्यसैले हतियार र कैदी बन्दीकै कारणले चुनाव विथोलिन्छ भन्ने पक्षमा हामी छैनौं’, उनले भने ।