सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतमा राजनीतिक दलका नेताहरूले राजनीतिक नेतृत्वमा सफलता हासिल गरे पनि विकासको नेतृत्वमा भने चुकेको बताएका छन् । बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८२ लाई सम्बोधन गर्दै उनले राजनीति र व्यवस्था परिवर्तनमा सफल भएका नेताहरू विकासको नेतृत्वमा चुकेको कारण जेनजी आन्दोलनको जन्म भएको बताएका हुन् । उनले भने, ‘हामीले केही हुँदै छ, भन्ने आशा जगाउने काम गर्नुपर्ने छ । सुशासनको प्रत्याभूति पनि दिनु पर्नेछ । सबैभन्दा महत्वपूर्ण कुरा निर्वाचन गराउनुपर्ने छ । यो जेनजी आन्दोलन त्यत्तिकै भएको थिएन । लामो समयको निराशा, आक्रोसको बिस्फोटन थियो । किन यो जन्मियो त भनेर खोज्ने हो भने देशमा राजनीति र सिस्टममा परिवर्तन धेरै देख्यौं । तर, त्यसपछिको विकासको एजेण्डामा नेतृत्व दिन हरेक पटक असफल हुँदै गयो । विगतका राजनीतिक नेतृत्वहरू धेरै सफल हुनुभयो तर, सफल विकासको सन्दर्भमा सफत नेतृत्वकर्ता हुन सक्नुभएन ।’ त्यस्तै मन्त्री घिसिङले ठूलो चुनौतीको बीचमा आफूले मन्त्रीको भूमिका निभाएको स्मरण गरे । देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई सेफ ल्यान्डिङमा लानुपर्छ भन्ने लागेर आफूले मन्त्रीको जिम्मेवारी लिन तयार भएको उनी सुनाउँछन् । ‘ठूलो चुनौतीको बीचमा मैले एउटा मन्त्रीको भूमिका निभाएर आएको हुँ । जिम्मेवारी लिनुपर्यो भन्दा पनि पछाडी हट्ने अवस्था मैले पनि अनुभूति गरेको थिए । मैले एउटा देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई एउटा सेफ ल्यान्डिङमा लानुपर्छ । निकास दिनुपर्छ भनेर यो सरकारमा मन्त्रीको जिम्मेवारी लिएको हुँ ।’ पुराना ऐन कानुनले समृद्धिको जनचाहना पूरा गर्न नसकेको बताउँदै मन्त्री घिसिङले निर्वाचन पछि आउने सरकारल त्यस्ता ऐन, कानुन र नीति परिवर्तन गर्नुपर्ने धारणा राखे । उनले सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भएको भन्दै तोकिएको समयमै निर्वाचन हुने दावी गरे ।