कार्की सरकारले जेनजीलाई नै दमन गर्नुले विदेशी कठपुतलि भएको पुष्टि : जन प्रजातान्त्रिक पार्टी

बुधबार, मंसिर १०, २०८२

काठमाडौं । जन प्रजातान्त्रिक पार्टी नेपालले सुशीला कार्की सरकारलाई हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्ने माग गरेको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त पार्टीले सरकारले जेन–जीका मागहरू संबोधन गर्नुको सट्टा उल्टै उनीहरूलाई नै धरपकडले जनता सशंकित भएकोसमेत जनाएको छ । पार्टी अध्यक्ष निरबहादुर श्रेष्ठले वर्तमान सरकारले जेन–जीहरूमाथिको धरपकड तथा दमनले आफूहरूलाई आक्रोशित तुल्याएको बताएका छन् । श्रेष्ठले जनताको शासकहरूप्रतिको चरम असन्तुष्टि र जेन–जीको बिद्रोहमार्फत सुशासन र भ्रष्टाचार मुक्त देशको सपनालाई वर्तमान सरकारले हत्या गरेको आरोप लगाए । ‘जेन–जीको आन्दोलनमा उपस्थित भएर हप्ता दिनमै भ्रष्टाचार मुक्त गर्छु भन्ने सुशीला त बारबारा फाउण्डेसनको प्रतिनिधिकारुपमा पो काम गर्न थाल्नु भयो, अब उहाँलाई विस्थापन गर्नुको विकल्प छैन’ श्रेष्ठले भने । श्रेष्ठले वर्तमान सरकारले गर्ने भनेको चुनावको औचित्य समाप्त भएको बताउँदै भने, ‘जेन–जी विद्रोह मुलतः सुशासन र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको माग भएको तर यो सरकार पुरानै बाटोमा गएकोले देशले यसबाट निकास पाउने देखिन्न ।’ पार्टी उपाध्यक्ष मेनुका श्रेष्ठले विद्रोहमा कलिला होनाहार युवायुवतीले साहदत पाएको र उनीहरूले देखेको सुशासनसहितको भ्रष्टाचार मुक्त देशको सपनालाई मर्न नदिने बताईन् । महासाचिव राजेन्द्र नेगीले सरकार समक्ष आफूहरूले राखेका मागहरू प्रस्तुत गर्दै सो मागहरू संबोधन नभए जेन–जीलाई साथमा लिएर आन्दोलन गर्ने चेतावनी दिए । उनले अन्तरिम संविधान निर्माण गरी सर्वपक्षीय नागरिक सरकार निमार्ण गर्ने, सोही नागरिक सरकारले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताए । पार्टीका सचिव रमेश महतेले देश परिवर्तनको उच्चतम हुटहुटी भएका नव युवाहरूलाई भोटिङ अधिकारबाट विमुख गर्ने व्यवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘नागरिकता १६ वर्षमा दिने तर भोट गर्ने तथा उम्मेदवार बन्न नपाउने व्यवस्था संशोधन नगरी चुनावको औचित्य छैन’ महतेले भने । पार्टीका उपाध्यक्ष साङ्गे शेर्पाले विदेशी संस्थाहरूले सहयोगको बहानामा देशलाई अस्थिर बनाउने षड्यन्त्र गर्ने गरेको आरोप लगाउँदै भने,‘एनजीयो तथा आइएन्जीयोहरूले देशलाई कसरी अस्थिरता र घातक हुने कार्य गर्दा रहेछन् भन्ने कुरा पछिल्लो विद्रोहमा टिओबी घुसपैठ र बारबार फाउण्डेसन नेतृत्व वर्तमान सरकार काफि छ ।’ आफ्ना मागहरू संबोधन गराउन सरकार तथा सरोकारवाला पक्षहरूसँग वार्ता गर्न पार्टीले पार्टी अध्यक्ष निरबहादर श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको पनि जानकारी दिएको छ । सो वार्ता टोलीमा साङ्गे शेर्पा, मेनुका श्रेष्ठ, राजेन्द्र नेगी रमेश महते सदस्य रहेको जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार