जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैंबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले

मंगलबार, मंसिर ९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौं भने इतिहास नै दोहोर्‍याउने खतरा हुने भन्दै इतिहासको अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने बताए ।  उनले भने, ‘भदौ २४ पछि नेपालको नयाँ पाना नै सुरु भयो जस्तो गरेर पनि प्रस्तुत गरिने पाइएको छ । त्यस्तो होइन्, पुराना–नयाँ खराब सबैलाई छुट्टाउन सक्नुपर्छ । अध्ययन र समाज बुझ्ने क्रममा त्यो ज्ञान हामीले ग्रहण गर्न सकेनौ भने अहिलेको जेनजीहरू पनि धेरै राम्रो नेता बन्न सक्दैँनन् भन्ने मेरो निष्कर्ष हो । हिजो भर्खरै आएका जेनजीहरूले हामीबाटै इतिहास सुरु भयो भन्ने नसोचे हुन्छ । मैले यसलाई सकारात्मक रुपमा नै भनेको हो । इतिहासबाट केही सिकेनौं भने इतिहास नै दोहोर्‍याउन पुग्छौं ।’ उनले शेर बहादुर देउवा र केपी ओली पनि कुनै समयमा जेनजी नै भएको भन्दै इतिहासलाई पल्टाएर, नजिकबाट अध्ययन गरेमात्र राम्रो नेता भन्न सकिने बताए ।  सरकारमा रही आएका पार्टीहरूले वर्षौ आन्दोलन गरेर जेल बसेर परिवर्तन ल्याएको हुनाले २७ घण्टामा सत्ता ढालेको आन्दोलन भनेर खिसी गरे पनि यो सत्य भएको उनको भनाई छ  ।  उनले भने, ‘पार्टीहरूले जेनजी आन्दोलनलाई यस्तो पनि आन्दोलन हुन्छ भनेर जुन खिसी गरिरहेका छन् त्यो उनीहरूले इतिहासमा लामो संघर्ष गरेर मात्र सफलता पाएको हुनाले हो । त्यसकारण उनीहरूले २७ घण्टामा सत्ता ढालेको पनि आन्दोलन हुन्छ भनेर भन्ने गरेका हुन् । तर त्यो भएकै हो । अब आन्दोलन भनेको १० वर्ष जेल बसेपछि गरेको परिवर्तन मात्रै हो भन्ने भाष्यबाट अगाडि आउनुपर्छ ।’

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार