सुमनराज अर्याल बने मुख्यसचिव

सोमबार, मंसिर ८, २०८२

काठमाडौं । सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । उमेर हदका कारण हालका मुख्य सचिव एकनारायण अर्याल बुधबार सेवा निवृत्त हुँदै छन् । मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानु अघि नयाँ नेतृत्व चयन प्रक्रियाबारे छलफल भइरहेको थियो । वरिष्ठता, समन्वय क्षमता, संस्थागत बुझाइ र कार्यक्षमतालाई तुलना गरेर निर्णय हुने बताइँदै आएको यो प्रक्रियामा सुमनराज अर्याल, प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्कर आकांक्षीका रूपमा चर्चामा रहेका थिए। छलफलका क्रममा मुख्यसचिव पद देशको प्रशासनिक नेतृत्व, नीतिगत सल्लाह, मन्त्रालयबीच समन्वय र सरकारी निर्णयहरूको प्रभावकारी कार्यान्वयनसँग जोडिने भएकाले योग्य, विवेकशील र संस्थागत परम्परा बुझ्ने व्यक्तिहरू नै उपयुक्त हुने बहस प्रशासनिक वृत्तमा निरन्तर चलिरहेको थियो । विशेष गरी राजनीतिक प्रभाव, बिचौलियाको पहुँच र शक्ति–समूहको दबाबबाट मुक्त ‘निष्पक्ष नेतृत्व’ आउनुपर्ने माग कर्मचारी वृत्तमा बलियो देखिएको थियो । विगतमा केही उच्चस्तरीय नियुक्तिमा बाह्य हस्तक्षेपको आरोप लाग्दै आएको पृष्ठभूमिमा यस पटक सरकार सचेत रहेको बताइएको थियो। सचिवहरूको मनोबल उकास्ने, मन्त्रालयसँग समन्वयमा दक्ष, नीतिगत निर्णयका सम्भावित असर पहिचान गर्न सक्ने र निर्वाचन व्यवस्थापनजस्ता संवेदनशील जिम्मेवारी वहन गर्न सक्षम व्यक्तिलाई मुख्यसचिव बनाउनुपर्ने तर्क प्रशासनिक विश्लेषकहरूले उठाउँदै आएका छन्। यसैबीच आजको क्याबिनेट बैठकले अन्ततः अर्याललाई मुख्यसचिवमा नियुक्त गरेसँगै मुख्य प्रशासनिक नेतृत्वको चर्चा सकिएको छ ।२०७७ माघ १९ मा सचिवमा बढुवा भएका अर्याल तथ्यांक सेवाबाट निजामतीमा प्रवेश भएका थिए । २०५३ वैशाखमा निजामती सेवामा अधिकृतबाट प्रवेश गरेको उनले विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् । योजना आयोग, प्रदेश सचिव, महिला मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, तथ्यांक कार्यालय लगायतका मन्त्रालय, विभाग निकायमा काम गरेको अनुभव रहेको छ । गत असोजमा उनलाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार