सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । एमाले महाधिवेशन यही २७–२९ मंसिरमा काठमाडौंमा हुँदै छ । तेस्रो कार्यकालका लागि अध्यक्ष उठ्न लागेका केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका पोखरेलले प्यानल बनाउने गृहकार्य थालेका हुन् । पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट, योगेश भट्टराई र रघुवीर महासेठ खुलिसकेका छन् । त्यस्तै बिन्दा पाण्डे पनि पोखरेल पक्षबाट उम्मेदवारी दिने तयारीमा छिन् । पोखरेल पक्षबाट उपाध्यक्ष पदको उम्मेदवार पाण्डे बन्ने सम्भावना छ । महासचिवको उम्मेदवार बिष्ट र भट्टराईमध्ये कोही एक हुने र अर्कोलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारी छ । सचिवमा बिन्दाले उम्मेदवारी दिने सम्भावना छ । ज्ञवाली र शाक्यले भने उम्मेदवारी दिने रुचि देखाएका छैनन् ।संस्थापनतर्फ ओली प्यानलबाट उपाध्यक्षमा विष्णु पौडेल पुनः दोहारिने सम्भावना छ । त्यस्तै महासचिवमा प्रदीप ज्ञवालीले चाहना राखेका छन् । महासचिवमा शंकर पोखरेल दोहोरिने अवस्था नआए उनी उपाध्यक्ष र ज्ञवाली महासचिवको उम्मेदवार हुनेछन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि महासचिवको आकांक्षा राखेका छन् । उपमहासचिव विष्णु रिमाल पनि उपाध्यक्षको आकांक्षी छन् । ओली पक्षबाट उपाध्यक्षमा विष्णु पौडेल, महासचिवमा प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ आकांक्षीमाओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा र सचिव लेखराज भट्टलाई पनि ओलीले व्यवस्थापन गर्नुपर्ने छ । एक महिला नेतृलाई उपमहासचिव बनाउनुपर्ने हुँदा पद्मा अर्यालको सम्भावना छ । अर्याल हाल सचिव छिन् । सचिवको आकांक्षीमा भीमप्रसाद आचार्य, लालबाबु यादव, किरण गुरुङ, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई र राजन भट्टराई छन् । संस्थापनइतर पक्षबाट नेतृत्वका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आकांक्षी थिइन् । तर अध्यक्ष ओलीले उनको पार्टी सदस्यता नवीकरण रोकेका थिए । त्यसपछि भण्डारी पक्षको समर्थनमा पोखरेललाई अध्यक्ष पदमा अघि सारिएको हो । ओलीलाई तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न बाटो खोल्ने गरी गत भदौ तेस्रो सातामा एमालेको विधान संशोधन गरिएको थियो । संशोधनका क्रममा दुई कार्यकाल मात्र कार्यकारी पदमा रहन पाइने र ७० वर्षे उमेर हदको प्रावधान हटाइएको थियो । बिहीबार सचिवालय बैठकमा ओलीले आफूसँग प्रतिस्पर्धा गरेका नेताहरू एमालेमा नरहेकाले यस्तो प्रतिस्पर्धालाई स्वस्थ बनाउनुपर्नेमा जोड दिएका थिए । फागुन २०६५ मा भएको आठौं महाधिवेशनमा अध्यक्षका लागि ओली र झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला खनालसित ओली पराजित भएका थिए । महासचिवमा ईश्वर पोखरेल चयन भएका थिए । असार २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा ओली र माधवकुमार नेपालबीच प्रतिस्पर्धा हुँदा ओली अध्यक्षमा चयन भएका थिए । महासचिवमा पोखरेल नै चयन भए । त्यस्तै मंसिर २०७८ मा भएको १०औं महाधिवेशनमा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला दोस्रो कार्यकालका लागि ओली निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा पोखरेल र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका थिए । पोखरेलले आठौं महाधिवेशनमा खनाललाई र नवौं महाधिवेशनमा ओलीलाई जिताउन भूमिका खेलेका थिए । दसौं महाधिवेशनमा उनी ओलीको आग्रहमा सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका थिए । ओलीले नेतृत्व लिएयता उनीसँग प्रतिस्पर्धा गरेका नेताहरू खनाल, नेपाल र रावलले पार्टी छाडिसकेका छन् । यी तीन नेता पुष्पकमल दाहाल संयोजक रहेको नेकपामा आबद्ध छन् ।