एमाले महाधिवेशन

ओलीलाई अध्यक्षमा चुनौती दिने ईश्वर पोखरेलको घोषणाले एमालेमा तीव्र ध्रुवीकरण

आइतबार, मंसिर ७, २०८२

काठमाडौं । आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको घोषणासँगै नेकपा एमाले भित्र महाधिवेशनलाई लिएर राजनीतिक ध्रवीकरण बढ्ने देखिएको छ ।  एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । हालै बसेको एमाले सचिवालय बैठकमा पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  यससँगै नेकपा विभाजनपछि नेकपा एमालेमा एकछत्र वर्चस्व कायम राख्न सफल अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने नयाँ समूहको जन्म भएको ठानिएको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार बैठकमा पोखरेलले उम्मेदवारी दिने जानकारी दिएपछि अध्यक्ष ओलीले पनि आफूले नछाड्ने बताएका थिए । ‘अध्यक्षले पनि मलाई यति बेला अपराधी करार गरिएका बेला छोड्दिन भन्नुभयो,’ उपाध्यक्ष पाण्डे भन्छन्, ‘पार्टीमा प्रतिस्पर्धा हुने भएपछि दुईखालको खेमा बन्ने नै भयो ।’ तर महाधिवेशनमा प्यानल बनाएरै उम्मेदवारी दिनेबारे निर्णय नभइसकेको उनको भनाइ छ । नेता पोखरेलले लामो समयसम्म ओली निकट रहेर काम गरेका थिए । त्यतिबेला पुराना र उच्च तहका अन्य कैयौँ नेताहरू ओलीसँग असहमत पक्षमा थिए । जानकारहरूका अनुसार नेकपा विभाजनपछि एमालेभित्र ओलीको एकछत्र वर्चस्व थियो । राजनीतिक विश्लेषक कृष्ण पोखरेलले पार्टीको केन्द्रदेखि तल्लो तहसम्म ओलीको विपक्षमा रहेकाहरूको नयाँ खेमा बन्ने ढोका खुलेको बताउँछन् । ‘हिजोसम्म अलिकति फरक स्वर निकाल्दा दमनमा पर्ने त्रासले बोल्न डराउनेहरू अब खुलेर बोल्छन्, एमालेभित्र नयाँ ध्रुवीकरण सुरु हुन्छ जस्तो लाग्छ,’ प्राध्यापक पोखरेल भन्छन् । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय हुन नदिने निर्णय गराएर सम्भावित चुनौती रोकेका थिए । भण्डारीलाई रोकिएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल अघि सरेका देखिएको छ । कतिपयले उनलाई भण्डारीको उम्मेदवारको रूपमा पनि हेरेको पाइन्छ । यसको दुईथरी प्रभाव पर्ने बताउँदै प्राध्यापक पोखरेल भन्छन्, ‘एउटा पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई संस्थागत र अर्को पार्टीभित्र ओलीको एकछत्र राज चल्दैन भन्ने कुरा स्थापित गर्नुहुन्छ जस्तो लाग्छ।’ ओलीविरुद्ध उम्मेदवारी दिने पोखरेलले घोषणा गरेदेखि नै इतर खेमाका नेताहरूबीच तारन्तार छलफल र परामर्श भएको छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘रणनीति बनाउन पदाधिकारी सहितका नेताहरू संयुक्त छलफल र बैठकमा जुट्न थालिसक्नु भएको छ । यसले निराश साथीहरूमा रक्तसञ्चार भएको छ ।’ उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइले पनि उनीहरूले त्यस्तै महसुस गरेको सङ्केत गर्छ । उनको बुझाइमा भदौ २३ र २४ को घटनापछि परिस्थिति निकै फेरियो र पार्टीलाई राजनीतिक धक्का लाग्यो । ‘यस्तो बेला परम्परागत सोच र नेतृत्वले पार्टी चल्दैन, नयाँ योजनाका साथ सबैलाई समेट्न सक्ने, सबैलाई साथमा लिएर जान सक्ने, परिवर्तनको नेतृत्व गर्न सक्ने क्षमता र दृष्टिकोण भएको नेता चाहिन्छ,’ उपाध्यक्ष शाक्य भन्छिन्, ‘त्यही भएकाले हामीले ईश्वर (पोखरेल) कमरेडलाई अगाडि बढ्नुस् भनेका हौँ ।’ उम्मेदवारी घोषणा अघि कार्तिक २८ गते राखेको फेसबुक पोष्टमार्फत् पोखरेलले नेतृत्व परिवर्तनको अगुवाइ गर्ने सङ्केत दिइसकेका थिए । उनले लेखेका थिए, ‘यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढङ्गले मार्ग निर्देशन गर्न सक्तैन। हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ ।’ नेकपा विभाजनपछि चितवनमा १० औँ महाधिवेशन भएको थियो । एउटा कक्षामा दुई पटक नपढ्ने बताएका ओलीले पार्टीको आवश्यकताका कारण उम्मेदवारी दिएको बताएका थिए । अहिले पनि नेतृत्वमाथि आक्रमण भइरहेकाले ओलीलाई साथ दिनुपर्ने उनी पक्षको भनाइ पाइन्छ । ‘गोदावरी विधान महाधिवेशनका बेला म अझैँ काम गर्न सक्छु भन्नुहुन्थ्यो, अहिले सङ्कट पर्दा छोड्दिन भन्ने हो भने छोड्ने कहिले ?’, उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रश्न गर्छन् । विद्या भण्डारी पार्टी नेतृत्वको निम्ति अग्रसर हुन खोज्दा ओलीले चुनाव हारेपछि भीम रावल जस्तै पार्टीबाट बाहिरिने अवस्था आउन सक्ने सम्भावना सुनाएका थिए । नेतृ अष्टलक्ष्मी शाक्य भने उम्मेदवार भइसकेपछि हारजित हुने र त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने र लिइने बताउँछिन् । ‘पार्टी निर्माणको निम्ति दुःख र त्याग गरेका नेता हौँ, त्यसैले हार्‍यो भन्दैमा पार्टी छाडेर भाग्नु पर्दैन,’ उनी भन्छिन्, ‘पार्टीलाई अझै व्यवस्थित गर्न, अगाडि बढाउन, सबैलाई गोलबद्ध गर्न भूमिका निर्वाह गर्ने हो । त्यसैले भीम रावल र माधव नेपालको कुरा घरीघरी उठाउन जरुरी छैन ।’ रावलले १० औँ महाधिवेशनमा ओलीसँगै उम्मेदवारी दिँदा नगण्य मत ल्याएका थिए । त्यसयता पार्टीमा ओलीको बलियो पकड रहेको ठानिन्छ । त्यसैले यस्तो स्थितिमा ओलीलाई चुनौती दियौँ भनेर आत्मशान्तिको लागि मात्रै पोखरेल पक्षले उम्मेदवारी दिन खोजिएको ठान्नेहरू पनि छन् । तर नेतृ शाक्य भन्छिन्, ‘सबै अवस्था बुझेर उठ्छु भन्दा मन शान्तिको निम्ति कसरी हुन्छ, पार्टीलाई विधिमा हिँडाएर देशलाई निकास दिने एमालेले नेतृत्व दिनुपर्छ, त्यसो हुनाले हामीले जित्नु पर्छ, जित्छौँ ।’ तर राजनीति विश्लेषक कृष्ण पोखरेल चितवन महाधिवेशनमा रावलले उम्मेदवारी दिँदाको भन्दा निकै फरक अवस्था रहेको बताउँछन् । भन्छन्, ‘रावलको एकल उम्मेदवारी जस्तो थियो, ओली चुनौतीविहीन अवस्थामा थिए, तर अहिले ईश्वर पोखरेलको उम्मेदवारी सङ्गठित र तयारीका साथ आएको देखिन्छ। त्यसैले उस बेला र अहिलेको अवस्थामा निकै अन्तर छ ।’

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार