सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले पार्टीको विधानअनुसार महाधिवेशन निर्धारित समयमा नै सम्पन्न गर्न माग गरेको छ । शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला नेतृत्वले पार्टी केन्द्रीय समितिसमक्ष मङ्सिर भित्र महाधिवेशन गर्न आवश्यक तयारी तत्काल अघि बढाउन आग्रह गरेको हो । जिल्लास्तरका पदाधिकारी र कार्यकर्ताको उपस्थिति रहेको पत्रकार सम्मेलनमा नेतृत्वले हालको ढिलाइले संगठनात्मक गतिशीलता कमजोर हुने जनाउँदै समयमै महाधिवेशन सम्पन्न हुनु लोकतान्त्रिक संस्कारको अनिवार्य प्रक्रिया भएको टिप्पणी गरियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामाले पार्टीको आन्तरिक लोकतान्त्रिक परम्परा जोगाउन, नेतृत्वको स्वाभाविक हस्तान्तरण सुनिश्चित गर्न र संगठनलाई व्यवस्थित रूपमा अगाडि बढाउन महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्नु आवश्यक रहेको बताए । उनले महाधिवेशन ढिलाइ भए पार्टी संरचना मात्र कमजोर नहुने, कार्यकर्तामा निराशा बढ्ने र नयाँ पुस्ताले संगठनप्रति देखाएको विश्वासमा असर पर्ने भएकाले अब ढिलाइको स्थान नरहेको स्पष्ट पारे। पार्टीलाई आधुनिक, जिम्मेवार र जनअपेक्षाअनुसार सञ्चालन गर्न संगठनात्मक स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘नयाँ पुस्तालाई आत्मविश्वासका साथ नेपाल कांग्रेस हस्तान्तरण गर्ने हाम्रो लक्ष्य हो। त्यसका लागि महाधिवेशन अविलम्ब हुनु अनिवार्य छ ।’ अध्यक्ष लामाले पत्रकारहरुसँगको कुराकानीमा विधानले तोकेको प्रक्रियाअनुसार सबै तहका संरचनालाई सक्रिय गर्दै महाधिवेशनको तयारी सुरु गर्नुपर्ने धारणा राखे। उनका अनुसार संगठन सुदृढीकरण, नेतृत्व विकास र पार्टीभित्रको पारदर्शी निर्णय प्रक्रियाको सुनिश्चितताका लागि महाधिवेशन नै मुख्य आधार हो। उनले जिल्ला, प्रदेश र केन्द्रबीच समन्वय बलियो बनाउँदै कार्यकर्ताको मनोबल उच्च राख्न समयमै हुने महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । नेपाली कांग्रेस मकवानपुरले जारी गरेको निष्कर्षमा पार्टीभित्र देखिएका केही विलम्ब, असमझदारी र असन्तुष्टिलाई महाधिवेशनले समाधान गर्ने अपेक्षा पनि व्यक्त गरिएको छ। पार्टीलाई जनताको विश्वासअनुकूल सञ्चालन गर्न विधि, नियम र समयतालिकाप्रति जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने उल्लेख गर्दै नेतृत्वले केन्द्रीय समितिको ध्यान आकृष्ट गराएको छ । पत्रकार सम्मेलनमा उपस्थित अन्य पदाधिकारीहरूले पनि महाधिवेशन ढिलाइले संगठनात्मक गतिविधि र लोकतान्त्रिक अभ्यास नै प्रभावित हुने भएकाले अब तत्काल कदम चाल्नुपर्ने सुझाव दिए । जिल्ला नेतृत्वका अनुसार महाधिवेशन समयमै गर्नु मात्रै विधानको पालना होइन, पार्टीलाई भविष्यतर्फ सक्षम रूपमा नेतृत्व गर्न आवश्यक पूर्वतयारी समेत हो ।