सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जिल्ला अस्पताल बाजुरामा तत्काल थप उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गरिने बताएका छन् । बाजुरा पुगेका मन्त्री शाहले जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहले जिल्ला अस्पताल शैयामा कम भए पनि प्रदेश स्तरीय अस्पताल भएको भन्दै अस्पतालमा तत्काल थप उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गरिने बताए । अस्पतालबाट गुणस्तरीय र अझै प्रभावकारी सेवा प्रवाह गर्न उपकरण,जनशक्ति र बजेटको व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताएका हुन्। साथै उनले राजनीतिक नियुक्ति प्रक्रिया मंसिर महिनाभित्रै टुंगिने समेत बताएका छन् । शाहले प्रदेशका अस्पताल, खेलकुद सहितका निकायमा ढिलाइ भएको राजनीतिक नियुक्ति प्रक्रिया यो महिनाभित्र टुंगिने लगाईने बताए । जिल्लाका जनप्रतिनिधि, कर्मचारीहरुलाई मुख्यमन्त्री शाहले नीतिगत र संस्थागत सुधारमा लाग्न समेत आग्रह गरे । नीतिगत तथा संस्थागत सुधार अपरिहार्य रहेको बताउदै शाहले सुधारका लागि खुला संवाद र सहकार्य जरुरी रहेको उल्लेख गरेका हुन्। मुख्यमन्त्री शाहले आफू हुँदासम्म कुनै आन्दोलन र नाराबाजी गर्न नपर्ने र खुल्ला रुपमा छलफल र संवादमार्फत निकासमा पुग्न प्रतिवद्ध रहेको कुरामा जोड दिए । त्यस्तै मुख्यमन्त्री शाहले आफूसहित सभामुख, समिति सभापति र मन्त्रालयका सचिवहरु बसेर तत्काल सदन खुलाउने र क्याबिनेटबाट ऐन संशोधनको प्रक्रिया अगाडि बढाइने जानकारी समेत गराए । अहिले सदन चलिरहेका बेला अध्यादेश हुने भएकाले अध्यादेशबाट ल्याउन नसकिएको समेत स्पष्ट पारेका हुन् । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए । त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावल, प्रदेश सभा सदस्य नरेश शाही, पदम बहादुर शाही, जुना दानी, स्थानीय तहका उपप्रमुख–प्रमुख, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत पत्रकारको सहभागीता रहेको थियो ।