नेपाली कम्युनिष्ट पार्टीप्रति ओलीको आलोचना

भने, ‘वामपन्थी विचारबाट पतन भएकाहरूको एकता’
शुक्रबार, मंसिर ५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरूले नेपाली कम्युनिष्ट पार्टीका नाममा एकता गरेको बताएका छन् । शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले वामपन्थीबाट र बामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताए ।  उनले भने, ‘पार्टी सबभन्दा मजबुद बनाउन त्यति सजिलो छैन । केही मान्छेहरू छन् बाम एकता भनेर घाँटी बसुन्जेल कराएका छन् । हामी सँधै त्यसरी वाम एकता गर्दैनौं । परेका बेला जाग्छौं । वामपन्थीबाट झरिसकेका वामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान छैन ।’ त्यस्तै उनले स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको बताए । नेकपा एमालेसँग असहमति राख्नेका लागि पनि जिउधनको रक्षा गर्ने काम र अधिकारको लागि फोर्स गठन भएको भन्दै यसको गठन र मजबुदीसँग कोही पनि तर्सिन नपर्ने उनको भनाई छ ।  उनले भने, ‘स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि, लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको हो । नेकपा एमालेसँग अथवा संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा र अधिकारको लागि गठन भएको हो । त्यसैले यसको गठन, विकास र मजबुदीसँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन ।’  अध्यक्ष ओलीले घर फर्क अभियानमार्फत नेकपा एसबाट एमालेमा फर्कनेहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको जानकारी गराए ।  ‘हामीले अस्ति भर्खरै नेकपा एकिकृत समाजवादी बनाउन जानुभएकाहरू एमालेमा फर्केर आउनु भएको छ । ती मध्ये नेताहरूलाई हामीले महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेको छौं ।’ नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमणकारी र आतङ्क मच्चाउने काम अहिलेसम्म जारी रहेको बताउँदै अध्यक्ष ओलीले त्यस्ता क्रियाकलाप तत्काल रोक्न सरकारलाई आग्रह गरे । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार