बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस, ४ केन्द्र परिवर्तन गर्न आग्रह 

शुक्रबार, मंसिर ५, २०८२

बाजुरा । बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरेको हो । जिल्लाका चारवटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय बाजुराले सिफारिस गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लाीग निर्वाचन केन्द्र थप गर्न सिफारिस गरिएको हो । स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली गाउँपालिका १ बिच्छ्यामा एक, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा २ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन बाजुराका निमित्त निर्वाचन अधिकारी अंगत बहादुर महतले बताए । त्यस्तै उनले त्रिवेणी नगरपालिका ८ मा २ वटा र बुढीनन्दा नगरपालिका ३ मा २ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफरिस गरिएको  जानकारी दिए । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २, ३, ५ र ९ मतदान केन्द्रलाई सम्बन्धित वडाको वडा कार्यालयमा स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको महतको भनाइ छ ।  ५ नगरपालिका र ४  गाउँपालिका रहेको बाजुरामा जिल्लाभर हाल ७० वटा मतदान स्थल र १ सय १२ मतदान केन्द्र रहेका छन् । जिल्लामा ८६ हजार ५ सय ७५ मतदाता रहेका छन् ।जसमा  ४४हजार ५ सय ३५ पुरुष र ४१ हजार ९ सय २० महिला रहेका छन् । त्यस्तै ११२ मतदान केन्द्र छन् भने ७० वटा मतदान स्थल रहेका छन् । बाजुरामा सबैभन्दा बढि मतदाता भएको स्थल खप्तड छेडेहद ५ डोगडी र सबैभन्दा कम हिमाली गाउँपालिका वडा नम्बर ३ रहेको छ। त्यहाँ क्रमश २ हजार ४ सय ६२ र ५ सय ४५ मतदाता रहेका छन् । 
असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु थियो । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार