फागुन २१ को निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

बिहीबार, मंसिर ४, २०८२

काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन हुने भएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको अध्क्षतामा बसेको ४१ औं बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्दले, रक्षा सचिव सुमनराज अर्याल सहभागी थिए । परिषद्का सदस्यसचिव रक्षा सचिव सुमनराज अर्यालले संविधानले दिएको अधिकार प्रयोग गरी निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय परिषद्ले गरेको जानकारी दिए । ‘परिषद् बैठकमा आगामी निर्वाचनमा सेना परिचालनबारे छलफल भयो । संविधानले दिएको अधिकार प्रयोग गरी सरकारलाई सेना परिचालनका लागि सिफारिस गर्ने निर्णय भएको छ,’ सदस्यसचिव अर्यालले भने । नेपालको कानुनमा सुरक्षा परिषद्ले परिस्थिति हेरेर सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई परिचालनका लागि निर्णय सिफारिस गर्ने प्रावधान छ । यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो ।  निर्णय बमोजिम रक्षा मन्त्रालयमा पत्र पनि पुगिसकेको थियो । त्यो पत्र बिहीबारको परिषद् बैठकमा छलफल भएको थियो । त्यसपछि परिचालनका लागि सिफारिस गर्ने निर्णय गरिएको हो ।

राष्ट्रिय सुरक्षा चुनौतीबारे छलफल
बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्नसक्ने सम्भावित चुनौतीबारे छलफल गरेको छ । बैठकमा बारामा उत्पन्न तनावबारे पनि छलफल भएको छ । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन जान लागेपछि बुधवारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य भएको छैन । एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा बुधवार जेनजी युवाहरूले तोडफोड गरेका थिए । त्यसपछि त्यहाँ कर्फ्यु आदेश जारी भएको छ । त्यो कर्फ्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । बुधवारदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो । सेना परिचालनका लागि सुरक्षा परिषद्ले निर्णय गर्नुपर्ने भएकाले त्यसबारे पनि आज छलफल भइरहेको सम्बद्ध स्रोतले जानकारी दियो । बुधबार र बिहीबार मात्रै बाराको सिमरामा देखिएको जेनजी र नेकपा एमालेबीचको झडप, त्यसबाट उत्पन्न परिस्थित र समग्र देशको पछिल्लो सुरक्षा अवस्थाबारे परिषद्‌मा छलफल भएको छ । बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने चुनौती तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावबारे छलफल भएको रक्षा सचिव अर्यालले बताए ।  त्यस्तै बैठकले परिषद्को आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि समेत छलफल गरेको छ । मस्यौदालाई आवश्यक संशोधनसहित स्वीकृत गरी राष्ट्रपति समक्ष पेश गर्ने निर्णय बैठकले गरेको रक्षा सचिव अर्यालले बताए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार