सरकारलाई ओलीको प्रश्न, ‘दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन् ?’

बुधबार, मंसिर ३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले भएकै भिडिओ सार्वजनिक गरेको दाबी गर्दै तत्काल छाड्न माग गरेका छन् । बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तक्र्रियामा बोल्दै उनले सरकारसँग दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन भनेर प्रश्न गर्दै जवाफ माग गरे ।  उनले भने, ‘दुर्गा प्रसाईंले दिउँसो भिडिओ सार्वजनिक गरे, राति पक्राउ गर्‍यो । म सोध्न चाहन्छु यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ? दुर्गा प्रसाईंलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन ? यतिकै पुलिस पठाएर समातेर समस्याको समाधान हुन्छ ? दुर्गा प्रसाईंले सोध्दैनन् होलान् त्यसको जवाफ, अरूले त देशभरीका जनताले दुनियाँले सोध्छन् नि । के हो त्यो एआई त होइन होला ? भएकै भिडियो त देखाएको हो ला नि । मुख बन्द गराएर गिरफ्तार गरेर समस्याको समाधान खोज्ने ? म सरकारलाई भन्छु दुर्गा प्रसाईंलाई तुरुन्तै छोड्नु ।’ त्यस्तै उनले मानवअधिकार आयोगले बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनिसक्दा पनि दुर्गा प्रसाईंलाई नछोडेकोप्रति असन्तुष्टि व्यक्त गरे ।  ‘मानवअधिकार आगोगले भनिसकेको छ, बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनेर, सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर आयोगले भनिसक्यो बुझ्नुपर्छ सरकारले’, उनले भने । त्यस्तै उनले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन गर्न नदिएको भन्दै आक्रोस पोखेका छन् ।  बाराको सिमरा एयरपोर्टमा पार्टीका महासचिव शङ्कर पोखरेललगायतका नेताहरूलाई युवा भेलामा जानबाट रोकेको घटनालाई लिएर आक्रोश व्यक्त गरेका हुन् ।  उनले भने, ‘बोल्न नदिने, सभा, सम्मेलन गर्न नदिने ? सिमरा एयरपोर्ट नै बन्द भयो । गुण्डा भन्दा अलि शब्द नराम्रो होला । ५०/६० जना मान्छे आएर ढुङ्गामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? अनि सरकार भन्छ चुनाव गर्ने रे । सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार