बाराको जीतपुर सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी

बुधबार, मंसिर ३, २०८२


रौतहट । बारामा जेनजी युवाहरूको प्रदर्शनले स्थिति तनावपूर्ण बनेपछि जीतपुर सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । युवा जागरण कार्यक्रममा सहभागी हुन एमाले नेता महेश बस्नेतलगायत आउने जानकारी पश्चात  जेनजी युवाहरूले सिमरा चोकमा विरोध  गरेका थिए । त्यसपछि सो समूहले सिमरा विमानस्थल घेराउ गर्दा नेकपा एमाले आवद्ध समूहबीच झडप भएको थियो । दुई समूहबीच झडप भएसँगै सुरक्षा स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास कफ्र्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मंसिर ३ गते दिउँसो  १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म सिमरा विमानस्थल र आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको उल्लेख गरेका छन् ।  प्रशासनले जारी गरेको सूचनामा गण्डक नहरदेखि पथलैयासम्मको सडक–खण्ड दायाँ–बायाँ ५ सय मिटरभित्र र सिमरा विमानस्थलको परिसर आसपास ५ सय मिटरभित्र कफ्र्यू आदेश जारी भएको उल्लेख छ ।कफ्र्यु अवधिभर कुनै पनि किसिमका भिडभाड, जमघट, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ । बुद्ध एयरको आजको सिमरा–काठमाडौं सम्पुर्ण उडान स्थगित गरेको छ ।   एयरलाइन्सले सुचना जारी गर्दै असहज परिस्थितिका कारण आजको सम्पूर्ण सिमरा उडान स्थगित भएको जनाएको हो । अहिले जीतपुर सिमरा क्षेत्रको स्थिति सामान्य बन्दै गएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार