सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरूले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरेका थिए । महाभियोगमाथि आज बसेको प्रदेश सभाको बैठकमा छलफल पश्चात मत विभाजन गरिएकोमा महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा सून्य मत परेको थियो । आजको बैठकमा कुल उपस्थित सांसदहरूको संख्या ७८ रहेको थियो । उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाई रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन । प्रदेश सभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ । मधेश प्रदेशका सभामुख मण्डललाई पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । यो सँगै उनी पदमुक्त भएका छन् । गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक डाकिएको थियो । बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले सो प्रस्ताव छलफलका लागि बैठकमा पेस गरेका थिए । सो उपरको छलफलमा लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका प्रदेश सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी प्रदेश सांसदहरू जीवछीदेवी यादव, नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद गणेश पटेल र प्रमोद यादवले आफ्ना धारणा राखेका थिए । त्यसपछि निर्णयार्थ प्रस्तुत गरी मत विभाजन मार्फत पारित गरिएको हो । बैठकमा नेकपा एमालेबाट भने एकजना प्रदेश सांसद सुरुको बैठकमा उपस्थित भए पनि स्थगित भए पश्चात पुनः सुरु भएको बैठकमा कोही उपस्थित थिएनन् ।