दुर्गा प्रसाईलाई चार दिन प्रहरी हिरासत

सुरक्षा समितिको बैठकपछि पक्राउ
मंगलबार, मंसिर २, २०८२

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ । आफूलाई भ्रष्टाचारविरोधी अभियानकर्मीका रूपमा चिनाउने व्यवसायी प्रसाई सोमवार राति पक्राउ परेका हुन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति मागेको थियो । मुलुकी अपराध संहिताले सार्वजनिक शान्तिसँग सम्बन्धित अभियोगमा सुनुवाइ गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । मुलुकी फौजदारी कार्यविधिले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकारअनुसार सार्वजनिक शान्तिविरुद्धका गतिविधिमा प्रमुख जिल्ला अधिकारीले एक वर्षसम्म कैद तोक्न वा १०,००० रुपैयाँसम्म जरिबाना गर्न सक्छन् ।

किन पक्राउ परे प्रसाई
पछिल्लो समय कार्कीले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहित जेन जी प्रदर्शनको बलमा बनेको सरकारमा रहेका व्यक्तिहरूविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका थिए । उनले संविधान संशोधन गरेर हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने सहितका माग राखेर देशव्यापी हडतालको समेत आह्वान गरेका थिए । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार पछिल्लो सुरक्षा समितिको बैठकमा सुरक्षा व्यवस्थाका चुनौतीबारे छलफल भएको थियो । ‘व्यक्तिविशेषभन्दा पनि सबैखाले सुरक्षा चुनौतीबारे छलफल भएको हो । शान्ति सुव्यवस्थाका लागि जोखिम पुर्‍याउने सबैखाले समूहमाथि राज्यले कारबाही गर्छ,’ उनले भने । शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप नगर्ने तर शान्ति बिथोल्ने गतिविधि भए सुरक्षा निकायले तत्कालै कारबाही चाल्ने काफ्ले बताउँछन् । प्रसाईको समर्थनमा हालै नागरिक बचाऊ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत परेको छ । उक्त दलको कुनै पनि समितिमा प्रसाई भने देखिएका छैनन् । तर दलका सभापति माधव खतिवडाले प्रसाईकै समर्थन र सहयोगमा आफूहरूले दल दर्ता गरेको बताएका छन् ।

प्रशासनको निगरानी
छठलगत्तै देशैभरि आन्दोलन गर्ने चेतावनी दिएका प्रसाईलाई सरकारले वार्तामा पनि बोलाएको थियो । सरकारसँग उनको समूहको वार्तापछि प्रसाईले आन्दोलन केही समय स्थगित गरिएको बताएका थिए । तर मङ्सिर दोस्रो साताबाट पुनः आन्दोलनको घोषणा गरेका उनले पछिल्लो समय सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट सरकारबारे बोलिरहेका थिए । उनले सोमवार अबेर आफ्नो फेसबुकमा सार्वजनिक गरेको भिडिओमा सरकारको निर्माण र जेन जी आन्दोलन बाह्य शक्तिको आडमा भएको आरोप लगाइएको छ । पछिल्लो समय प्रसाईका गतिविधिबारे प्रशासनले निगरानी राखिरहेको र प्रहरी सङ्गठनलाई होच्याउने र सार्वजनिक शान्तिमा खलल पर्ने किसिमका अभिव्यक्ति दिएका कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता पवन भट्टराईले बताए । ‘उहाँले गरेका क्रियाकलाप र अभिव्यक्तिले हाम्रो शान्ति सुव्यवस्थालाई खलल पुर्‍याउने देखिएकोले अनुसन्धानका लागि हामीले उहाँलाई नियन्त्रणमा लिएका हौँ,’ भट्टराईले भने । उनका अनुसार प्रसाईले सोमवार मात्रै पनि जेन जी आन्दोलनका बेला कार्यालय छोडेर भागेका प्रहरीबारे ‘अमानवीय टिप्पणी’ गरेका थिए । आफ्नो घरबाट प्रहरीले पर्चा जफत गरेको भन्दै प्रसाईले प्रहरी सङ्गठन र नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको आलोचना गरेका थिए । ‘आन्दोलनका नाममा भड्काउने, उक्साउने, अराजक बनाउने र शान्ति व्यवस्था खलल पुर्‍याउने किसिमका उहाँका अभिव्यक्ति पनि छन् र गतिविधि पनि सञ्चालित छन्,’ काठमाडौं प्रहरीका प्रवक्ता भट्टराईले भने । प्रसाईले अगुवाइ गरेको नागरिक बचाऊ महाअभियानले संविधान संशोधन सहितका माग राखेर आन्दोलनको आह्वान गरेको थियो ।

दुर्गा प्रसाईका समर्थक के भन्छन्
जेन जी प्रदर्शनपछि नेपाली सेनाले दुर्गा प्रसाईलाई पनि वार्ताका लागि बोलाएको थियो । उनको उपस्थितिबारे कतिपय जेन जी नेताहरूले प्रश्न उठाएका थिए । आन्दोलनलगत्तै सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बनेपछि प्रसाई नयाँ सरकार र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि आक्रामक देखिएका थिए । प्रसाई नेतृत्वको नागरिक बचाऊ महाअभियानले खोला किनारका सुकुम्वासी बस्ती हटाउने काठमाडौं महानगरको कदमविरुद्ध प्रदर्शन समेत गरेको थियो । उक्त अभियानले प्रसाई पक्राउ परेको विरोधमा मङ्गलवार जिल्ला प्रशासन कार्यालयबाहिर प्रदर्शन समेत गरेको छ । अभियानका सङ्गठन सचिव प्रेमदीप लिम्बूले आफूहरू देशव्यापी सङ्घर्षमा जाने बताए । ‘वर्तमान सरकारले गरेका करतुतहरू नेपाली जनताले थाहा पाउनुपर्‍यो भनेर प्रसारण गर्नुभएको थियो । त्यही आधारमा हुन सक्छ,’ लिम्बू भन्छन्, ‘हामीले नागरिकलाई सूचना दिने उद्देश्यले बोल्दा सरकारले नै अशान्ति मच्चाएको हाम्रो बुझाइ हो ।’ प्रसाईले मानिसहरूलाई भड्काउने अभिव्यक्ति दिएको आरोप ‘वास्तविक नभएको’ उनका समर्थकहरूको दाबी छ । ‘राज्य, सरकार डराएर यो काम गरेको हो,’ लिम्बू भन्छन् ।
यसअघि पनि प्रसाई पटकपटक पक्राउ परेका थिए। चैत १५ गते काठमाडौंमा भएको राजसंस्था पक्षधरको प्रदर्शनपछि भारत पुगेका प्रसाईलाई प्रहरीले असमबाट ल्याएको थियो । लामो समय हिरासतमा बिताएका उनलाई पछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रहरीले अरू व्यक्तिलाई पनि पक्राउ गर्ला ?
यसअघि प्रहरीले उत्तेजक अभिव्यक्ति दिएको आरोपमा डा. निकोलस भुसाल भनेर चिनिने कमल भुसाललाई पनि पक्राउ गरेको थियो । उनलाई सुरक्षा निकायमाथि ‘ड्रोन खसाल्ने’ जस्ता आपत्तिजनक अभिव्यक्ति दिएको र अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको थियो । नेकपा एमालेका नेता महेश बस्नेतले पनि उत्तेजक अभिव्यक्ति दिएको भन्दै कतिपयले सामाजिक सामाजिक सञ्जालमार्फत् उनलाई पक्राउ गर्न माग गरेका थिए । नेकपा एमालेको आह्वानमा हुन लागेको प्रदर्शनसँग समेत जोडेर कतिपयले उनलाई पक्राउ नगरिएको विषयमा सामाजिक सञ्जालमा प्रश्न गरिरहेका छन् । यसबारे सोधिएको प्रश्नमा काठमाडौं प्रहरीका प्रवक्ता भट्टराई भन्छन्, ‘प्रहरीलाई कसैको पनि अभिव्यक्ति, व्यवहार र क्रियाकलापले कुनै सद्भाव भड्किने वा अराजकता सिर्जना हुने लक्षण, गतिविधि, क्रियाकलाप देखिए हामी अनुसन्धान गर्छौँ ।’

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार