सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बेलायतमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसका संक्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल–भारत सीमा नाकामा निगरानी र क्वारन्टिनको नियम फेरि लागू गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउने गरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको उनीहरूको भनाइ छ । बेलायतबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोनाभाइरसको संक्रमण देखिएको र नयाँ प्रकारको कोरोनाभाइरस भए–नभएको पुष्टिका लागि नमुना हङ्कङ पठाउन लागिएको अधिकारीहरूको भनाइ छ ।
सीमाको स्थिति के छ ? बेलायतमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस बिस्तारै विभिन्न देशमा फैलिन थालेसँगै नेपाल सरकारले बेलायतबाट आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । हाल नयाँ कोरोनाभाइरसका संक्रमित भारतमा समेत भेटिएपछि नेपालमा पनि भित्रिन सक्ने चिन्ता बढेका छन् । नेपाल–भारत सीमा खुला भएकाले भारतबाट कोरोनाभाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष सरकारी निकायहरूले पनि निकालेका छन् । तसर्थ स्थल र हवाई मार्गबाट आएकाहरूलाई क्वारन्टिन र परीक्षण अनिवार्य गर्नेगरी काम सुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, ‘जोखिमको आधारमा आवागमनहरूलाई व्यवस्थित गर्ने, विदेशबाट भित्रिने सबै नाकाहरूमा निगरानी बढाउने, अनि आएका व्यक्तिहरूलाई क्वारन्टिनमा राख्ने र परीक्षण गर्ने रणनीतिहरू अलि सघन रूपमा अघि बढाइएको अवस्था छ । दश दिन क्वारन्टिनमा बस्न र बसाउन सबै निकायसँग समन्वय अघि बढाइएको छ ।’
के नेपालमा हुन्छ परीक्षण ? नयाँ प्रकारको कोरोनाभाइरस बेलायतबाट विभिन्न देशमा फैलिएलगत्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक एक पटक बसेको थियो । भारतमा समेत देखिएपछि सीसीएमसीको थप बैठक छिट्टै बसेर थप निर्णय लिने बताइएको छ । अहिले पनि नेपालीहरूलाई प्रवेशका लागी भारतसँगका १४ वटा नाका खुला रहेका र ती नाकामा बेलैमा सतर्कता अपनाउन नसके छिटो फैलिन सक्ने नयाँ प्रकारको कोरोनाभाइरसले नेपालमा संक्रमण फेरि बढाउन सक्ने कतिपयको चिन्ता छ । बेलायतबाट नेपाल आएकाहरू मानिसहरूलाई अहिले होटलमा क्वारन्टिनमा राखिएको र उनीहरूको
परीक्षणको काम भइरहेको छ । परीक्षण भएकामध्ये पाँचजनामा कोरोनाभाइरस पुष्टि भएको छ । त्यो नयाँ प्रकारको कोरोनाभाइरस भए–नभएको निक्र्याेल भइनसकेको अधिकारीहरुको भनाइ छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा डब्ल्यूएचओको हङ्कङस्थित सेन्टरमा नमुना पठाइएको छ । नयाँ प्रकारको भाइरस निक्र्याेल गर्न आवश्यक पर्न सक्ने सम्पूर्ण जीनोम सिक्वेन्सिङ गर्ने सुविधा नेपालमा छैन । तर आनुवंशिक अनुसन्धानको क्षेत्रमा काम गरिरहेका एक वैज्ञानिकले नेपालमै यो परीक्षण गर्न सकिने सुविधा रहेको जिकिर गरेका छन् ।