एमाले बाजुराको जनप्रदर्शन कार्यक्रम सम्पन्न, जनसचेतना र दबाव सृजना गर्नुपर्नेमा नेताहरुको जोड

आइतबार, कात्तिक ३०, २०८२

बाजुरा । नेकपा एमाले बाजुराले राष्ट्रिय एकता, संविधानको सर्वोच्चता र संसद् पुनस्र्थापनाका माग सहित प्रर्दशन गरेको छ ।  शनिबार सदरमुकाम मातडीमा जनप्रदर्शन कार्यक्रम सम्पन्न भव्य रुपमा सम्पन्न भएको हो । ‘निर्णयक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा सहित सञ्चालन गरिएको कार्यक्रममा देशलाई संविधान र लोकतान्त्रिक मार्गमा फर्काउन आवश्यक जनसचेतना र दबाब सृजना गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।  कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी फेर्दैमा व्यक्ति ठिक हुने र दल खोल्दैमा नयाँ हुन्छ भन्ने मानसिकता गलत भएको बताए ।  उनले पार्टी बदल्दैमा व्यक्ति शुद्ध हुने वा नयाँ दल खोल्दैमा राजनीतिक संस्कार बदलिने सोच भ्रम पुर्ण र गलत भएको बताए ।  पुर्वउद्योग मन्त्री समेत रहेका नेता थापाले नेपाल र नेपालीको भविष्य एमालेसँगै जोडिएकोले पार्टी नेतृत्वलाई सशक्त र बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । यताउती गर्ने प्रवृतिले नेपाली राजनीतिमा असर पार्दै गएको बताउँदै यसले स्वस्थ राजनीतिक विकासलाई अवरुद्ध गरिरहेको धारणा समेत व्यक्त गरे । प्रतिगामी षड्यन्त्रका विरुद्ध एमालेले देशभर सञ्चालन गरिरहेको जनपरिचालन अभियानको क्रममा गृह जिल्ला बाजुरामा पुगेका नेता थापाले अहिलेको वर्तमान राष्ट्रिय संकटको प्रभाव देशका दुर्गम ठाउँका कुना कन्दरामा परेको समेत बताए । शासन सञ्चालनमा देखिएका अस्थिरता, आर्थिक चुनौती र जनजीविका सम्बन्धी समस्याको दीर्घकालीन समाधान एमालेको नेतृत्वमै सम्भव रहेको बताउँदै एमाले सधैं सत्यको पक्षमा वकालत गर्ने पार्टी समेत रहेको प्रष्ट पारेका हुन् । उनले विभिन्न राजनीतिक उतार चढावका बीचपनि राष्ट्रवादी अडान, विकासोन्मुख दृष्टिकोण र जनताको पक्षमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् । उनले भने,‘नेपाल र नेपालीको भविष्य स्थिर, सक्षम र जिम्मेवार राजनीतिक नेतृत्वसँग बाँधिएको छ।  त्यो नेतृत्वका लागि एमाले नै स्वाभाविक विकल्प हो ।’  दलभित्र सुधार, नेतृत्वमा जिम्मेवारी र राजनीतिक संस्कारमा आन्तरिक रूपमा परिवर्तन गरिने समेत बताएका हुन्।आफ्नो घर भनेको आफ्नै घर हो, उनले भने,‘अर्काको घर र आफ्नो घरमा धेरै फरक हुन्छ। त्यसैले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्नु बेकार हो ।’  राजनीतिक स्थायित्व र इमानदार नेतृत्व निर्माणका लागि साझा प्रयास आवश्यक रहेको बताउँदै उनले पार्टीलाई बलियो खम्बाको रुपमा स्थापित गर्न सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । साथै पार्टी फेर्दैमा व्यक्ति महान हुन्छ भन्ने मानसिकता  आफ्नो मानसपटलबाट हटाउन आवश्यक रहेको समेत बताए । राष्ट्रिय एकताको संरक्षण, संविधानको पूर्ण पालना र सर्वोच्चता, प्रतिनिधि सभा पुनस्र्थापनाको गर्नुपर्ने भन्दै एमालेले देशैभरी जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको हो।कार्यक्रममा स्थानीय नेता, कार्यकर्तादेखि जिल्लाभरका जनसमुदायको सहभागिता रहेको थियो । पछिल्लो राजनीतिक अस्थिरताले देशमा सिर्जना गरेको अनिश्चितता बारे चिन्ता व्यक्त गर्दै संविधानको रक्षा,संसद पुनः स्थापना गरि संबैधानिक सरकार बनाउनुपर्ने कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।
एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष लाल बहादुर ओलीको अध्यक्षतामा संचालन भएको जनप्रदर्शन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पुर्व मन्त्री कर्ण बहादुर थापा रहेका थिए । त्यस्तै बिशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापा, सहदेव बोगटी, केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि उपाध्यक्ष काली बहादुर शाही, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य गगन रावल रहेका थिए । नेकपा एमाले जिल्ला कमिटि बाजुरा सचिव काशी विकले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य जिल्ला कमिटि उपाअध्यक्ष जनक कुमार रोकायाले गरेका थिए ।र्‍याली सहित बजार परिक्रमा गरेर लोकतान्त्रीक चोकमा  कोणसभामा पणिरत भएको थियो। कार्यक्रममा एमाले नेता कार्यकर्ताको उल्लेख्य सहभागी रहेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार