सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर महिनामा विशेष महाधिवेशन गर्न प्रस्ताव राखेका छन् । काँग्रेस केन्द्रीय कार्यसमितिमा बहुमत रहेको संस्थापन पक्ष फागुन २१ को निर्वाचनअगाडि महाधिवेशनको पक्षमा नदेखिएपछि थापाले २७–२८ मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव बिहीबारको बैठकमा राखेका हुन् । थापाले यसअघि १८ कात्तिकको बैठकमा १६–१९ पुसमा नियमित महाधिवेशन गर्ने गरी तालिका प्रस्ताव गरेका थिए । त्यसलाई अस्वीकृत गर्ने योजनासाथ संस्थापन पक्षका नेताहरूले सहमहामन्त्री महेन्द्र यादवमार्फत त्यही दिन २७–२९ वैशाखमा महाधिवेशन गर्ने ‘काउन्टर’ प्रस्ताव ल्याएका थिए । केन्द्रीय कार्यसमितिले बहुमतबाट नियमित महाधिवेशन रोक्न सक्ने भए पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरिसकेकाले त्यसलाई रोक्न मिल्ने वैधानिक व्यवस्था छैन । विधानको धारा १७ (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन माग गरिए तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले २९ असोजमै विशेष महाधिवेशनको माग गर्दै निवेदन दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ असोजदेखि भइरहेको छ । बैठकमा सबै पदाधिकारी तथा सदस्यहरूले बोल्ने क्रम बिहीबार सकिएको छ । तर महाधिवेशनकै विषयमा मतैक्य हुन नसक्दा कुनै निर्णय हुन सकेको छैन । कार्यवाहक सभापति पूर्णबहादुर खड्का सबै नेता र पक्षसँग छलफल गरेर सहमतिबाटै निर्णय गरिने बताउँछन् । ‘पार्टीभित्र विभाजित मानसिकता नल्याउन सहमतिबाटै निर्णय लिन गृहकार्य भइरहेको छ,’ उनी भन्छन् । निर्वाचन अगाडि महाधिवेशन हुनुपर्ने अडानमा दुई महामन्त्री टसमस नभइरहेका बेला संस्थापन पक्षबाट दुई थरी विचार आएका छन् । संस्थापन पक्षका सात पूर्वपदाधिकारी निर्वाचन अगाडि महाधिवेशन गर्न नहुने अडानमा छन् भने अर्को समूह निर्वाचन अगाडि नै नियमित महाधिवेशनको तालिका ल्याउनुपर्ने पक्षमा उभिएको छ ।