सुदर्शन खड्का बने कोशी प्रदेशसभाको सचिव, नौ महिनाको रिक्तता अन्त्य

बिहीबार, कात्तिक २७, २०८२

विराटनगर । करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद् सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् । सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन् । बुधबार दिउँसो उनले प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।  पूर्वसचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारको कसुरमा दोषी ठहर भएपछि प्रदेशसभा सचिवालय गत नौ महिनादेखि नेतृत्वविहीन थियो । पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध बालुवाखानी सञ्चालन गर्न अनुमति दिएको अभियोगमा पराजुलीलाई अदालतले ६ वर्ष कैद र जरिवानाको सजाय सुनाएको थियो । त्यसपछि उनी स्वतः पदमुक्त भएका थिए । यसबीच, कोशी प्रदेशसभा बुधबारदेखि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनमा सारिएको छ । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि पुरानो भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । भवन ध्वस्त बनेपछि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने निर्णय गरिएको हो । प्रदेशसभाका कर्मचारीका अनुसार नयाँ स्थलमा आवश्यक संरचना र प्रशासनिक तयारी भइरहेको छ ।
‘प्रशासनिक काम सञ्चालनका लागि सुरुवात भइसकेको छ’, एक कर्मचारीले बताए ।
नवनियुक्त सचिव खड्काको आगमनसँगै कोशी प्रदेशसभाको प्रशासनिक रिक्तता अन्त्य भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार