सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संस्था अहिले एक जना स्वास्थ्यकर्मीको भरमा चल्दै आएका छन् । पालिकाका दशवटै वडाका स्वास्थ्य संस्था एकजना कर्मचारीको भरमा चलाउनुपर्ने बाध्यता छ । पहिले सबै स्वास्थ्य संस्थामा एक जना अहेव, दुई जना अनमी र एक कार्यालय सहयोगीले गरी चार जना कर्मचारी रहेकोमा अहिले एक जनाको भरमा स्वास्थ्य संस्था चलेका हुन् । कार्यपालिकाको ४९ औँ बैठकले ४६ जना करार अस्थायी तथा ज्यालादारीमा राखेर काम गर्दै आएका झण्डै ४६ जना स्वास्थ्यकर्मी हटाएपछि अहिले ती स्वास्थ्य संस्था एक जनाको भरमा चलाउनु परेको हो । एक/एक जनाको भरमा स्वास्थ्य संस्था चलाउन पालिकालाई अहिले हम्बेहम्बे भएको छ । स्थानीयहरुले घण्टौ हिडेर सेवा लिनुपर्ने बाध्यता छ । पहिले स्वास्थ्यकर्मी स्थानियको घरदैलोमै पुग्ने गरकोमा अहिले सेवा दिनै समस्या हुने गरेको छ । स्वास्थ्य संस्थामा पुग्ने स्थानीयले अहिले राम्रोसँग सेवा नपाउने गरेका छन् । अहिले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिन समस्या भएको बुढीगंगा नगरपालिका–७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता बिष्टले बताइन् । स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको उनले बताइन् । कतिपय सुत्केरी व्यथा लागेकी महिला स्वास्थ संस्थामा आउन नसक्ने हुँदा उनीहरुकै घरमा गएर सेवा दिनु परेको उनको भनाइ छ । प्रदेश सरकारले अस्थायी कर्मचारी हटाउने निर्देशन दिएसँगै पालिकाले करारका सबै कर्मचारी हटाउँदा अहिले सेवा प्रवाहमा असहज भएको हो । प्रदेश सरकारको निर्देशन अनुसार नियम रुपमा हामीले कर्मचारी हटाएको हुँदा बढीजसो स्वास्थ्य संस्था प्रभावित बनेको नगर प्रमुख राम बहादुर बाँनियाले बताए ।