अदालतले मेरो नियुक्ति अवैधानिक ठहराए राजीनामा दिन्छु : मुख्यमन्त्री यादव

मंगलबार, कात्तिक २५, २०८२

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले अदालतले नियुक्तिविरुद्ध फैसला गरे राजीनामा दिन तयार रहेको स्पष्ट पारेका छन् । जनकपुरधाममा मंगलबार (आज) पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री यादवले आफूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले जे फैसला गरे त्यो मान्न तयार रहेको बताएका हुन् । मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति गलत रहेको आदेश दिए आफू एकछिन पनि पदमा नबस्ने बताएका छन् । उनले मधेश प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुखले संविधानमा उल्लेख बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको बताएका छन् ।  मुख्यमन्त्री यादवले प्रदेश प्रमुखको स्वाथ्यमा समस्या आएका कारण आफू स्वयमले नै आग्रह गरेर महोत्तरीको एक होटलमा सपथ ग्रहण गरेको बताए । उनले संविधान भन्दा बाहिर रहेको आफू र आफ्नो पार्टी नेकपा एमालेले कहिले कुनै काम नगरेको पनि दाबी गरे । प्रदेश प्रमुखलाई पदमुक्त गर्नुमा अहिलेको नयाँ सरकारले गरेको निर्णय मात्र रहेको र यसमा आफूलाई नजोड्न उनले आग्रह गरे । विभिन्न राजदुतहरूलाई पनि फिर्ता बोलाउने अहिलेको सरकारले गरेको निर्णय आफूलाई केही थाहा नभएको मुख्यमन्त्री यादवले बताए । पदभार कहिले ग्रहण गर्ने भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा मुख्यमन्त्री यादवले जेनजी आन्दोलनमा मुख्यमन्त्री कार्यालय क्षति भएकाले सचिवलाई मर्मत संभार गरी कार्यायल सूचारु गर्ने वातावरण बनाउन आफूले निर्देशन दिएको बताए । उनले कार्यालय व्यवस्थापन हुने वित्तिकै पदभार ग्रहण गरी नियमित कामकाज अगाडि बढाउने बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार