सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेस सरकार गठनविरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले रिट दायर गरेका हुन् । मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो । ‘सरकार गठन प्रक्रियाका लागि संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदाहुँदै पनि प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीले काननु नै मिचेर धारा १६८ को उपधारा ३ मा टेकेर सरकार गठन गरेको विषयमा त्यसको बर्खीलाप रिट निवेदन दायर गरेको हो,’ रक्कीप्रसाद साहले भनेका छन् । उनले यस विषयमा सर्वोच्च अदालतले सकारात्मक र संविधान रक्षाको निर्णय गर्नेमा आफूहरू आशावादी रहेको समेत बताए ।
मधेस प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड जनकपुरधाम स्थित मधेस भवनभित्र रहेको मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड भएको छ । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एकलौटी ढंगले एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै जसपा लगायत सातदलीय गठबन्धनका सांसद तथा पार्टीका कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड गरेका छन् । उनीहरुले प्रदेश प्रमुखको नाम लेखेको नेमप्लेट र मुख्य प्रवेशद्वार बाहिर रहेको गमला लगायतका सजावटका सामानहरू तोडफोड गरेका छन् । सो क्रममा उनीहरुले प्रदेश प्रमुख मुर्दाबाद, एकलौटी गर्न पाइँदैन लगायतका नारासमेत लगाएका छन् । अहिले मधेस भवनभित्र व्यापक मात्रामा प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । मधेस भवन बाहिर भने जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, जनमत लगायतका सातदलीय गठबन्धनका नेता कार्यकर्ताहरू टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।