नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त, मधेश प्रदेश प्रमुख पदमुक्त

सोमबार, कात्तिक २४, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । यस्तै मन्त्रिपरिषदले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई सिफारिस गरेको छ ।  त्यस्तै, भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ । महानिरीक्षकमा नियुक्त भएका कार्की काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख हुन्। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जाँदैछन्। खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गरेको हो ।  कार्की पहिलो नम्बरका एआईजी हुन् । कार्कीले २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन् । उनी ०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।  उनी ०६४ सालमा डीएसपी, ०७४ मा एसपी र ०७९ मा एसएसपी भएका थिए । एसएसपीबाट नै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए । एसएसपी हुँदा काठमाडौँ प्रहरी परिसर प्रमुख थिए । त्यसबाहेक उनी प्रहरी महानिरीक्षकको सचिवालयमै कार्यरत रहे। 
कार्की ०८१ साल जेठमा डीआईजीमा बढुवा भएका थिए । डीआईजी भएपछि पनि महानिरीक्षकको सचिवालयमै कार्यरत कार्कीले प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो ।  ०८२ वैशाखमा उनी पहिलो नम्बरमै एआईजीमा बढुवा हुँदा राजन अधिकारी र मनोजकुमार केसी पनि एआईजी भएका थिए। अधिकारी र केसी पनि कार्कीकै ब्याची हुन्। 
एआईजीमा बढुवा भएपछि प्रहरीको मानव स्रोत विभागमा पदस्थापन भएका कार्कीलाई जेनजी आन्दोलनको क्रममा भदौ २३ गते ठूलो मानवीय क्षति भएपछि २४ गते काठमाडौँ उपत्यका प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको थियो ।  उपत्यकाको जिम्मेवारी सम्हालेका कार्कीले आन्दोलनकारीमाथि मानवीय क्षति हुने गरी बल प्रयोग नगर्न ब‍रु हातहतियार, सवारी साधनको साथै कार्यालयका महत्त्वपूर्ण सामान र आफ्नो सुरक्षामा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए।  

यी हुन मन्त्रिपरिषद्का थप निर्णय 

– राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने ।

– भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने ।

– २०८२ कात्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा नेपाल भारत कोअर्डिनेशन बैठकको नवौं बैठकमा सहभागी हुने नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डलको टोलीलाई स्वीकृति ।

– भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने ।

– २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय भएको छ । 

– मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार