ओलीद्वारा जेनजी आन्दोलनको आलोचना, ‘युवाको नाममा अराजकता मच्चाइयो’

आइतबार, कात्तिक २३, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले युवाको नाममा हिंसा, तोडफोड र आगलागी गराइएको दाबी बताएका हुन् । उनले भने, ‘नेपालको जन र धनको क्षति गराउने खालका क्रियाकलापहरूलाई आन्दोलन, क्रान्ति, परिवर्तनका नामबाट ग्लोरीफाई गर्न खोजियो । तर त्यसको आडमा देशलाई असंवैधानिक र अराजकतातर्फ धकेल्ने प्रयास भयो, जुन जेनजी आन्दोलनमा देखियो ।’ उनले यस्तो अवस्थालाई लामो समयसम्म रहन दिन नहुने उल्लेख गर्दै यसको जिम्मेवारी नेपाली जनता, विशेषगरी युवाका काँधमा रहेको बताए । ओलीले भने, ‘युवाहरूको काँधमा जिम्मेवारी यस कारण पनि आएको हो कि जेनजी भन्ने कुरा कुनै मानव विकासको अवधिसँग होइन, कम्प्युटर साइन्सको विकास अवधिसँग सम्बन्धित हो । तर त्यसलाई युवाहरूसँग जोडेर, उनीहरूलाई भावनात्मक रूपमा प्रयोग गर्न खोजियो ।’ उनले जेनजी आन्दोलनका नाममा उठाइएका मागहरू मध्ये धेरै जायज रहेको पनि बताए । ‘भदौ २३ र २४ गते माइतीघर मण्डलामा आएका युवाहरूले राम्रा मागहरू राखेका थिए,’ ओलीले भने, ‘तर ती माग, आन्दोलन र मुद्दा युवाहरूका हातबाट खोस्ने तत्वहरू पहिले नै त्यहाँ जम्मा भइसकेका थिए । युवाका नाममा विनाश अरुले मच्चाए, तर त्यसलाई जेनजी आन्दोलन भनियो ।’ अध्यक्ष ओलीले भदौ २४ गते देशभर भएको आगलागी र तोडफोड पूर्वनियोजित भएको दाबी पनि गरे । उनले भने ‘२४ गतेको हिंसा र क्षति २३ गतेको गोलीकाण्डसँग प्रत्यक्ष सम्बन्धित थिएन । त्यो त घटना हुनुभन्दा पहिले नै म्याप बनाई योजना अनुसार गरिएको थियो ।’ ओलीले युवाहरूलाई संयमित, जिम्मेवार र देशहितमा उभिन आह्वान समेत गरे । ‘हामीले यस्तो परिस्थिति निरन्तर रहन दिनु हुँदैन । यो देश युवाकै काँधमा टेकेर अघि बढ्छ, त्यसैले युवाले भावनामा होइन, विवेकमा आधारित भएर देशको भविष्य तय गर्नुपर्छ ।’ 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार