युवा संघका नेताहरू भन्छन्, ‘हामी देश बचाउँछौं, जलाउनेहरू लखेटिन्छन्’

सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामा ल्याएरै छाड्ने युवा संघको चेतावनी
आइतबार, कात्तिक २३, २०८२

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नेताहरूले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरूसँग सहकार्य नगर्ने चेतावनी समेत दिएका छन् । राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिबेला युवा संघले धेरै एजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरू बनाइरहेको सुनाए । अध्यक्ष थेवेले पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू पनि सँगै लिएर अगाडि बढ्ने पनि बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा एमालेका ऐजेण्डाहरू अनुसार देश बचाउनका लागि आफूहरू केन्द्रित रहेको बताए । उनले देश जलाउनेहरूलाई आफुहरू नसमेट्ने पनि बताए ।  ‘युवा संघसँग धेरै एजेन्डाहरू छन् । तर देशको वर्तमान परिस्थितिलाई समीक्षा गरेर नयाँ ढंगले अगाडि बढ्दैछौं ।  पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू लिएर अगाडि बढिरहेका छौं । एमालेले देश बचाउनेको रक्षा गरेर हिडेको छ र देश बचाउनेको नेतृत्व गरेको छ । देश जलाउनेहरूलाई हामी समेट्नेवाला छैनौँ । देश बचाउने सम्पूर्ण जेन्जीहरूलाई समेटेर अभियान लिएर अगाडि बढेका छौँ,’ उनले भने  ।  उनले ४६ साल पछिको राजनीतिक परिवर्तनपछि महत्वपूर्ण जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले ०४६ सालपछिको सम्पत्ति छानबिन गर्न एमाले सधैँ तयार रहेको बताए । अध्यक्ष थेबेले देश साँच्चै बनाउने हो भने ०४६ पछिको सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । 
उनले भ्रष्टचारविरुद्धको नारा सबैभन्दा पहिला एमालेले उठाएको भन्दै जेनजीको माग पनि आफुहरूबाटै उठ्न सुरु गरेको दावी गरे ।  उनले लुसिफर दलालहरूले देश खरानी बनाउने प्रयत्न गरेको बताए । भदौ २४ गते देश बचेको भए पनि त्यसपछि पनि आन्दोलन लम्बाएर देश जलाउने प्रयत्न भएको बताए । त्यस्तै नेकपा एमालेका केद्रीय सदस्य राजिव पहारीले एमालेले संसद पुनःस्थापनाको निम्ति आन्दोलनलाई अगाडि बढाउने जन दबाब सिर्जना गर्ने बताए ।  ‘अहिले नेकपा एमालेले संसदको पुनःस्थापनाको निम्ति आन्दोलनलाई र जनदबाबलाई अगाडि बढाउने र पार्टीलाई पुनः व्यवस्थित गर्नको निम्ति महाधिवेशनलाई अगाडि लैजाने सोचमा छ । योजनामा छ । त्यही ढंगबाट अगाडि बढेका छौँ,’ उनले भने । त्यस्तै राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले बालेन शाह र सुदन गुरुङ्गले नै सिंहदरबारदेखि नेपालको सार्वजनिक सम्पत्ति जलाएर नाश गरेको आरोप लगाए ।
बालेन र सुदनलाई वर्तमान सरकारले कारवाही नगरेतापनि भोलिको दिनमा आउने दलीय सरकारले नछाड्ने चेतावनी दिए ।  ‘हामीले खुल्लम खुल्ला भनिरहेका छौँ–बालेन, सुदनहरूले नै सिंहदरबार, संसद् भवन राष्ट्रपति कार्यालय जलाएका हुन् । यिनीहरूलाई आज सरकारले त कारबाही गर्दैन् । तर भोलिको दिनमा दलीय सरकारले कारवाही गर्छ नै । यदी चुनाव भयो भने दलै आउने हो । त्यसबेला उनीहरू कहीं भाग्न सक्दैनन् ।’
उनले यतिबेला बालेन र सुदन खुल्ला रुपमा हिँडे पनि भोलिका दिनमा कानूनी कठघरामा उभ्याएरै छाड्ने चेतावनी दिए । 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार