सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता छ : गभर्नर पौडेल

शनिबार, कात्तिक २२, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।  शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च रहेको भन्दै सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।  उनले भने,‘अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च हो । सरकारले खर्च बढायो भने माग पनि बढ्छ । तपाईंहरू आफ्नो गतिमा दौडनुस्, सरकार पनि आफ्नो गतिमा दौडनेछ । अन्ततः सबै सँगै अगाडि पुग्छौं ।’ त्यस्तै उनले ब्याजदर घटेको, तरलता प्रशस्त रहेको भन्दै उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताए ।  उनले भने, ‘ब्याजदर एकदम कम भएर गएको छ । तरलता उच्च छ । राष्ट्र बैंकमा ८ खर्बभन्दा बढी, विदेशी विनिमय २२ खर्बभन्दा बढी छ । छिमेकी देशभन्दा हामीसँग बढि छ । यसबेला तपाईंहरूले हामीसँग माग गर्नु स्वभाविक हो ,हामी तपाईहरुको अविभावक हौं ।  तर तपाइँहरुले पनि सहयोग गर्नुस् । उच्च मनोबलकासाथ काम गर्नुहोस् उत्पादन बढाउनुस्, रोजगारी सिर्जना गर्नुस् ।’ उनले ब्याजदर करिडोरको तल्लो सीमा जोगाउनका लागि राष्ट्र बैंकले २५ अर्ब खर्च गरेको जानकारी गराए । उनको अनुसार करिब डेढ लाख व्यक्ति कालोसूचीमा परेकाले कर्जाको माग घटाएको हो । 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार