सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन सौराहामा आजदेखि सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विगतको भूमिकाको समीक्षा र आगामी कार्यदिशा सम्बन्धी दृष्टिकोणहरू पेश भएका छन् । प्रतिवेदनमा नेताको लोकप्रियताले मात्रै पार्टी नटिक्ने उल्लेख छ । रास्वपाले छोटो समयमै राम्रो जनमत प्राप्त गरे पनि यसलाई दिगो बनाउन बलियो संगठनात्मक संरचना आवश्यक पर्ने अर्यालले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘केवल नेताको लोकप्रियताले मात्रै पार्टी टिक्दैन । हरेक पालिका, वडा र टोलमा पार्टीको उपस्थिति र सक्रियता हुनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ । पार्टीभित्र लामो समय संगठनात्मक स्वरूप, ढाँचा लगायतका अन्योलता रहेको पनि स्वीकार गरिएको छ । ‘पार्टी विस्तारको सुस्त गति, परिभाषित कार्यक्षेत्र र जिम्मेवारीको अभाव, कमजोर समानुपातिक र समावेशी प्रतिनिधित्व, केन्द्र–नियन्त्रित संगठनात्मक संरचना, लोकप्रियतावादप्रतिको रुचि र हामीलक्षित तथाकथित विभिन्न प्रकरण र तीप्रतिको निम्छरो प्रतिवाद, कमजोर आन्तरिक सूचना प्रणाली एवम् नेता र सदस्यबीच दोहोरो अन्तर्क्रिया अभाव पनि हाम्रा कमजोरी हुन्,’ प्रतिवेदनमा उल्लेख छ । संसदीय फाँटमा रफ्तारले स्थापित भए पनि संगठनात्मक क्षेत्रमा त्यसरी काम नगरेको प्रतिवेदनमा उल्लेख छ । डेढ वर्षसम्म ‘संगठन बनाउने कि नबनाउने ? बनाउने भए कस्तो र कत्रो बनाउने ?’ भन्ने बहसमै अलमलिँदा गति दिन गाह्रो भएको प्रतिवेदनमा उल्लेख छ । पार्टीमा नेतृत्वप्रति तथ्यहीन आलोचना, नेताहरूमा बढेको महत्त्वाकांक्षा र अरूको अस्तित्व नस्वीकार्ने प्रवृत्तिले चिन्ता बढाएको भनिएको छ । त्यसैगरी, पार्टी रिफर्म र चर्चित व्यक्तिलाई स्वागत गर्ने विषयमा पनि प्रतिवेदनले टिप्पणी गरेको छ । ‘पार्टी रिफर्म र चर्चित व्यक्तित्वलाई स्वागत गर्ने विषयमा शतप्रतिशत सहमति छ । तर रिफर्म र स्वागतको बाहनामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी स्वीकार्य हुन सकेन,’ प्रतिवेदनमा भनिएको छ । त्यसैगरी, चुनावको तयारीमा लाग्दा मूलधारका मिडिया र सामाजिक सञ्जाल दुवैमा पार्टीको उपस्थितिलाई सशक्त बनाउने र गलत सूचना र अफवाहको खण्डन गर्ने संयन्त्र बनाउनु पर्ने प्रस्ताव पनि कार्यवाहक सभापति अर्यालले गरेका छन् । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने गत वर्ष पक्राउ परेपछि उनका पक्षमा पार्टीले गरेको आन्दोलनको प्रतिवेदनमा बचाउ गरिएको छ । ‘तत्कालीन सरकारले राजनीतिक स्वार्थप्रेरित भएर तथ्यहीन अभियोग लगाएका कारण सिङ्गो पार्टी पङ्क्ति उहाँविरुद्धको षड्यन्त्रमा उभिएको हो । नेतृत्वलाई बद्नाम गरेर पार्टीलाई कमजोर बनाउन खोजे भने त्यसविरुद्ध संस्थागत प्रतिवाद गर्नु हाम्रो कर्तव्य हो,’ प्रतिवेदनमा उल्लेख छ । एक नेताको व्यक्तित्वमा भर परेको र उसको व्यक्तिगत समस्यामा पार्टीले अपनत्व लिएको भनेर आलोचक र भित्रका शुभेच्छुकहरूले प्रश्न उठाए पनि यसलाई षड्यन्त्रकै अंश हो भन्नेमा पार्टी सचेत रहेको जनाइएको छ।