सर्लाहीमा मतदाता नामावली दर्ता अभियानमा २३ सय भन्दा बढी नयाँ मतदाता दर्ता

बुधबार, कात्तिक १९, २०८२

सर्लाही । सर्लाहीमा जारी मतदाता नामावली संकलन अभियानमा हालसम्म २३ सय भन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार असोज १० गतेदेखि कात्तिक १७ गतेसम्म जम्मा २,३६५ जनाको नामावली दर्ता भइसकेको छ । जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहका अनुसार दशैं, तिहार र छठजस्ता पर्वका कारण केही समय काम प्रभावित भए पनि हाल दैनिक औसत १७० देखि २०० जनासम्म नयाँ नाम दर्ता भइरहेकाले कार्य पुनः तीव्र गतिमा अघि बढेको छ । सेवाग्राहीको चाप व्यवस्थापन गर्न कार्यालयले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गरिरहेको उनले बताए । हालै सरकारले ल्याएको अध्यादेश अनुसार ‘जेनजी पुस्ताका’ युवा मतदाताले पनि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न पाउने भएपछि नाम दर्ता गर्न आउने युवाको संख्या उल्लेख्य रूपमा बढेको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले यसपटक देशभरका नागरिकलाई जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावली दर्ता वा अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ । तर, मतदानका लागि उमेर १८ वर्ष पूरा हुनुपर्नेछ । नामावली दर्ता तथा अद्यावधिक प्रक्रिया कात्तिक ३० गतेसम्म जारी रहनेछ । यद्यपि, जिल्लाका दुर्गम क्षेत्रका सेवाग्राहीले सदरमुकाम मलंगवामै पुगेर नाम दर्ता गर्नुपर्ने बाध्यताले समस्या भएको गुनासो गरेका छन् । एकै दिनमा काम नसकिँदा राति मलंगवामा बस्नुपर्ने र खर्च बढ्ने समस्या उनीहरूले बताएका छन् । निर्वाचन अधिकारी साहका अनुसार हालसम्म जिल्लाभरका नाम दर्ता र अद्यावधिक कार्य सदरमुकामस्थित कार्यालयमार्फत मात्रै गर्न निर्देशन आएकोले भीड बढेको र सोही कारण असुविधा उत्पन्न भएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार